धेरै चुके, नेताजी साह्रै झुके
‘मेलम्चीको पानी दुई–चार महिनामा काठमाडौं आइपुग्छ । त्यसपछि मात्र वहाँ (बीना मगर) लाई बिदा गर्दा राम्रो सन्देश जाला ।’ घुमाउरो पाराको यस्तो प्रस्ताव राखेर नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हालैको भेटमा एकाएक नाडी छाम्न खोज्नुभएको कोटेश्वरतिर चर्चा छ ।
प्रधानमन्त्रीले परिवार भनेपछि अरुलाई प्राथमिकता नदिने भनी पार्टीभित्रै गुनासो झेल्दै आउनुभएका अर्का अध्यक्षकी बुहारी तथा खानेपानी मन्त्री बिना मगरलाई तत्काल नहटाउने आशयको प्रस्ताव बेप्रसङ्ग तेर्स्याउनुको भित्री कुरो बुझ्न गाह्रो पनि छैन । बजारमा प्रचण्डले बीनालाई मन्त्रीबाट नहटाउने शर्तमा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिन सहमतिमा मुण्टो हल्लाउन सक्ने आशयका समाचार छ्याप्छ्याप्ती भएपछि प्रधानमन्त्रीले एक कदम अघि बढेर पहिल्यै डाम्न खोजेको स्रोतको दाबी छ ।
प्रधानमन्त्रीले सुस्त आवाजमा मुस्कुराउँदै राखेको उक्त प्रस्ताव अर्का अध्यक्षले भने एकोहोरो सुनिरहेको बताइन्छ । त्यहि बेलामा नाम नलिइकन क्याबिनेट पुनर्गठन गर्दा उहाँले एकजना साथी (सम्भवतः पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा) लाई पनि ल्याउनुपर्ने भनेर बताउनुभएको थियो ।
प्रधानमन्त्रीले प्रचण्डसमक्ष राखेको भनाई उल्लेख गर्दै स्रोतले भन्यो– ‘अख्तियारले क्लिन चिट दिँदैछ भन्ने सुनेपछि मैले उहाँको बारेमा त्यहाँ पनि सोधेँ । कुनै प्रमाण बाँकी छ भने भन्नुहोस्, म कारबाही गर्छु भनेँ तर, अख्तियारले त्यस्तो केही नभेटिएको बताएकोले अब सरकारको बचाउ गर्न पनि उहाँलाई ल्याउनैपर्ने हुन्छ ।’
प्रधानमन्त्रीले अझ अगाडि बढेर भन्नुभयो ‘सफल अर्थमन्त्रीका हिसाबले थप काम गर्न दिन अहिलेका अर्थमन्त्रीलाई पनि दोहो¥याउनुपर्ने देखिएको छ । तर, यो कुरोचाँहि सचिवालयको बैठकभन्दा अघि तपाईं र मैले कहिँ कतै पनि नचुहाऔं ।’
त्यतिञ्जेलसम्म प्रचण्डले केही पनि नबोली गम्भीर मुद्रामा एकोहोरो सुनिरहनुभयो ।
यस्तै प्रस्तावको जगमा टेकेर अर्थमन्त्रीमा युवराज खतिवडालाई निरन्तरता दिने र गोकुल बाँस्कोटालाई पुनः मन्त्री बनाउन सकिने योजनामा बालुवाटार अघि बढेको देखिन्छ । स्रोतका अनुसार सर्बत्रको बिरोध र सचिवालयको फरक निर्णय हुँदाहुँदै पनि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई मात्र काखी च्यापेर अघि बढ्नुको आधारचाँहि अर्का अध्यक्ष प्रचण्ड यसबीचमा ‘धेरै चुके, साह्रै झुके’ को परिणाम हो । जनआस्थाबाट
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking