Techie IT
×
गृहपृष्ठराजनीतिपूर्वसांसद मैयादेवी श्रेष्ठको निधन

पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन


चितवन, ६ कात्तिक । पूर्वसांसद मैयादेवी श्रेष्ठको शनिबार राति निधन भएको छ । १९८५ सालमा तनहुँ बन्दीपुरमा जन्मेकी श्रेष्ठ बाल्यकालमै चितवन आइन् । कांग्रेसको राजनीतिमा सक्रिय उनी २०४८ सालको निर्वाचनमा तत्कालीन गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । श्रेष्ठको गए राति सवा एक बजेतिर निधन भएको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए ।

नारायणघाटमा २००३ सालमा बीपी कोइरालाबाट तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता लिएकी श्रेष्ठ १३ सालमा नेपाली कांग्रेस चितवनको जिल्ला कार्य समिति सदस्य रहेको इतिहास छ । उनी १५ सालको आम निर्वाचनमा चुनाव उठ्न चाहेकी थिइन् । पार्टीले विश्वबन्धु थापालाई उठाएपछि स्वतन्त्र उम्मेद्वारी दिए पनि पछि बीपीको अनुरोधमा थापालाई नै समर्थन गरेकी थिइन् ।

‘चितवनमा कांग्रेसको राजनीति फैलाउन उहाँको योगदान महत्त्वपूर्ण छ । मैयादेवी व्यक्ति हैन संस्था हो । उहाँको निधन पार्टीका लागि अपूरणीय क्षति हो,’ चितवन कांग्रेसका सभापति खनालले भने । अविवाहित श्रेष्ठ धर्मपुत्र टंकनाथ पौडेलसँगै भरतपुर–२ क्षेत्रपुरमा बस्दै आएकी थिइन् । दसैंको फूलपातीको दिन साँझपख जन्मेकी श्रेष्ठलाई छोरी जन्मियो भनेर आमाले सिस्नोको झ्याङमा लगेर फालेकी थिइन् ।

बाबाले छोरी जन्माए सौता ल्याउँछु भनेका कारण आमाले त्यसो गरेको मैयादेवीले भन्ने गर्दथिइन् । उनका बाबुको नाम वीरबहादुर र आमाको नाम गणेशकुमारी हो । उनका बुबा डिट्ठाको जागिरे थिए । तर उनको पुर्ख्यौली व्यापारिक घरनाको हो । जागिरसँगै मैयादेविका बुबा व्यपार पनि गर्दथे । घिउ लगेर भारतको बम्बैसम्म बेच्ने गर्दथ्यो उनको परिवारले । मैयादेवी एक महिनाको हुँदा बुबाले परिवारलाई नारायणगढमा ल्याएका थिए ।

मैयादेवीले आफ्नो सम्पत्ति समाजसेवामा लगाइन् । का‌ंग्रेसबाट उम्मेद्वार भएर ४८ सालमा चुनाव जितेर पहिलो पटक सांसद भएकी श्रेष्ठ ५८ सालदेखि ६३ सालको पुससम्म राष्ट्रिय सभाको सदस्य थिइन् । त्यसपछि संविधान सभा सदस्य निर्वाचनसम्म अन्तरिम व्यवस्थापिका संसदको सदस्य रहिन् । श्रेष्ठ संविधान सभा सदस्यको पहिलो निर्वाचनमा तत्कालीन चितवन–३ बाट उम्मेद्वार थिइन् । तर विजयी हुन भने सकिनन् ।

समाजसेवामा श्रेष्ठ दानको प्रतिमूर्तिका नामले परिचित छिन् । भरतपुरमा खुलेको मैयादेखि कन्या कलेजको १२ कट्ठा जमिन र भवन बनाउने सबै खर्च उनले नै बेहोरेकी हुन् । उनले नारायणगढको बालकुमारी कन्या स्कुललाई १० कट्ठा जग्गा दिएकी थिइन् । नेपाली कांग्रेस पार्टी र अनेकौं व्यक्तिहरुलाई समेत उनले भूमिदान गरेकी छन् । चितवन कांग्रेसले उनैले दिएको नारायणगढको जग्गामा जिल्ला पार्टी कार्यालय बनाएको छ ।

काठमाडौं रविभवनमा ८० लाखमा किनेको घर मैयादेवी श्रेष्ठले ५५ सालको पुस १९ मा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका लागि दान गरेकी थिइन् । ‘म सानैदेखि दिने स्वभावकी थिएँ । बिहानभर आमाले लगाईदिएको चुरा पनि बाँडेर सक्थे रे, थालाभरि दिएको खाजा पनि सप्पै बाँडेर आउँथे रे’ उनको बारेमा लेखिएको एक किताबमा मैयादेवीले भनेकी छन् ।

मैयादेवी धार्मिक स्वभावकी थिइन् । उनी देवघाट बस्ने, तीर्थ, धाम घुम्ने गर्दथिइन् । मैयादेवीले ७२ सालको भदौमा मैयादेवी ट्रष्ट बनाएर नारायणगढ मेनरोड पुतलीबजार चोकको आफ्नो तीन तले घर सोही ट्रष्टलाई हस्तान्तरण गरेकी थिइन् । त्यो घर बाहेक उनले सो ट्रष्टका लागि भनेर थप दुई करोड रुपैयाँ नगद पनि दान गरेकी थिइन् ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #maiya devi shrestha

तपाईको प्रतिक्रिया दिनुहोस