Techie IT
×
गृहपृष्ठराजनीतिमाओवादी अहिले पनि उस्तै पो छ क्यारे भन्ने भ्रम जनतामा छ : प्रचण्ड

माओवादी अहिले पनि उस्तै पो छ क्यारे भन्ने भ्रम जनतामा छ : प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले नेपाली जनतामा अझै पनि युद्ध गरेर आएको दल शान्तिप्रतिको लगावमा छैन कि भन्ने भ्रम रहेको भन्दै सबैले यस्तो विभ्रमलाई दिमागबाट हटाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘युद्धमा पनि हामी यस्तै थियौँ । अहिले पनि मानवता, लोकतन्त्र, परिवर्तन, न्याय, समानताप्रति हाम्रो उद्देश्य उस्तै छ । युद्ध एउटा परिस्थितिको बाध्यता थियो । तर त्यसको सञ्चालन गर्ने हामीभित्र शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्ति प्रक्रियाको सम्झौता सम्भव थिएन । युद्धमा सहभागीहरूले नै शान्तिको महत्त्व सबैभन्दा बढी बुझेका हुन्छन् । मानिसलाई युद्धमा गए त्यो बढी क्रुर र अमानवीय छ कि भन्ने लाग्छ । तर यथार्थ हेर्नुभयो भने त्यस्तो छैन । अहिले पनि एउटा भ्रम छ, माओवादी अहिले पनि कतै उस्तै पो छ क्यारे भनेको जस्तो । युद्धले शान्ति ल्याएको छ नेपालमा । माओवादी जनताको शान्तिको चाहनासँग एकाकार छ ।’

अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको आत्मकथाबाट धेरै कुरा सिकेर अघि बढ्न आवश्यक रहेको बताए।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #prachanda


तपाईको प्रतिक्रिया दिनुहोस