Techie IT
×
गृहपृष्ठराजनीतिनिधिका विरुद्ध देउवाले गोपालमान उचाले

निधिका विरुद्ध देउवाले गोपालमान उचाले


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकै तनावमा छन् । उनको यो तनावको कारण अरु कोही नभएर उपसभापति विमलेन्द्र निधि हुन् ।

आसन्न १४ औं महाधिबेशनमा उपसभापति निधिले सभापति पदको उम्मेदवारका लागि तयारी गरिरहेको सूचना सभापति देउवाले एक महिना अघिदेखि नै पाएका थिए । तर, अन्तिम अवस्थामा केही आश्वासन दिएर निधिलाई मनाउन सकिने कुरामा देउवा ढुक्क थिए ।

समाचार स्रोतका अनुसार निधिले एक साताअघि नै टेलिफोन गरेर ‘तपाईंसँग गम्भीर छलफल गर्नु छ, विहीबार साँझ आउँछु’ भनेका थिए । सोही अनुसार गत विहीवार निधि देउवा निवास बुढानिलकण्ठ पुगे । श्रीमती आरजुलाई अर्को कोठामा पठाएर देउवा आफैले कुराकानी अघि बढाए । देउवाको भनाइ थियो, ‘अब मेरो अन्तिम पटक हो, त्यसपछि अर्को मान्छे भनेको तपाईं नै हो, तपाईलाई कार्यबाहक सभापति बनाएर १५ औं महाधिबेशनमा सभापति बनाउने धोको मेरो छ, यसबीचमा पार्टीलाई अवसर आयो भने प्रधानमन्त्री पनि तपाईं नै हो ।’

देउवाले ज्यादै सहज रुपमा कुरा राखेपछि निधिले भने, ‘पहिलो कुरा त १५ औं महाधिबशेनसम्म म ७० वर्ष नाघिसक्छु, बूढो उमेरमा सक्रिय राजनीति गर्ने रहर मलाई छैन । तपाईंले १४ औं महाधिबेशनमा सहयोग गर्छु भनेर १३ औं महाधिबशेनमै कमिटमेन्ट गरिसक्नु भएको हो । दोस्रो कुरा, तपाईं जनस्तरमा धेरै नै आलोचित भइसक्नु भएको छ, तपाईंको नेतृत्वमा कांग्रेसले चुनावै जित्दैन, चुनाव नजित्ने भएपछि पावर शेयरिङको कुनै अर्थ छैन ।’

कि सभापतिमा चुनाव लड्ने कि सक्रिय राजनीतिबाट विदा लिने बाहेक अब आफूसँग अर्को विकल्प नरहेको उपसभापति निधिले बताएपछि सभापति देउवाको ‘बडी ल्याङ्ग्वेज’ एक्कासी परिर्वतन भयो । कञ्चटबाट चिटचिट पसिना निकाल्न थाले, अनुहार सोहोरियो । बोली थप लडबडाउन थाल्यो । देउवाले भने, ‘ समय अझै बाँकी छ, गोपालमानले पनि इच्छा गरेका छन्, सबैलाई राखेर टुंगोमा पुग्ने प्रयास गर्छु ।’

समाचार स्रोतका अनुसार निधिले तयारी अघि बढाएको सूचना पाएपछि सभापति देउवाले गोपालमान श्रेष्ठलाई टेलिफोन गरेर ‘तपाईं पनि दावी गर्नोस्, त्यो भयो भने निधिलाई सहमतिमा ल्याउन सजिलो हुन्छ’ भनेका थिए । देउवाको सल्लाह अनुसार गोपालमानले पनि दावी गरे तर गोपालमानको दावीलाई मिडियाले प्रायोजित ठान्दै समाचार बनाएनन् ।

यसपछि देउवा पत्नी आरजु राणाले आफ्ना नातेदार समेत रहेका वरिष्ठ पत्रकार युवराज घिमिरेलाई मिडिया रणनीति बनाउनका लागि बोलाइन । घिमिरेले आफूद्वारा सञ्चालित देशसञ्चार डटकममा गोपालमान सभापतिको उम्मेदवार हुने विषयमा लामो समाचार प्रवाह गराए । यतिबेला राणा, शाह लगायत दरवारिया निकट मिडियाहरुमा गोपालमान सभापतिको उम्मेदवार हुने कुरा जोडतोडका साथ उठेको छ । साथै, देउवा दोहो¥याउन इच्छुक नरहेको तर गोपालमान र निधिबीच कुरा नमिलेको हुनाले दोहो¥याउन वाध्य हुने भन्ने खालका समाचार प्रवाह भएका छन् ।

समाचार स्रोतका अनुसार यतिबेला देउवाका लागि युवराज घिमिरे र निधिका लागि किशोर नेपालले मिडिया रणनीति बनाएका छन् । भारतीय जनता पार्टीको समर्थन आफ्नो पक्षमा ल्याउन युवराज घिमिरे काविल रहेको बुझाइ सभापति देउवाको छ । निधिलाई नंग्याउनका लागि देउवाका ससुराली खलकले केही अखबारमा आर्थिक लगानी सुरु गरेको समाचार स्रोतले जनाएको छ ।

यता संस्थापन इतर पक्षमा पनि कोइराला परिवारबीच नै द्वन्द्व चर्काउन सभापति देउवा सफल भएका छन् । यसका लागि महामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइरालाका पछाडि ठूलो आर्थिक लगानी गरी छुट्टाछुट्टै टोली खटाइएको छ । ‘कुनै पनि हालतमा अबको सभापति तपाईं नै हो’ भन्दै डा. शेखरलाई उकास्ने अभियानको जिम्मेवारी कृष्णप्रसाद सिटौलाले लिएका छन् भने डा. शशांक कोइरालालाई उकास्ने जिम्मेवारी दिलेन्द्रप्रसाद बडुले लिएका छन् । सिटौला र बडु दुवैको भित्री योजनाकार देउवा रहेको बताइन्छ । यता रामचन्द्र पौडेललाई उकास्न देउवाले क्षेत्री समाज नेपाल मार्फत रामशरण महत र अर्जुननरसिंह केसीलाई छुट्टाछुट्टै परिचालन गरेका छन् । प्रकाशमान सिंहलाई उकास्नका लागि पनि देउवाले प्रभावकारी टिम परिचालन गरेका छन् । आफ्नो विरोधी कित्तामा ४–५ जना उम्मेदवार बनाई दिएको अवस्थामा निधिले विद्रोह गर्दा पनि केही फरक नपर्ने बुझाई देउवाको किचेन क्याविनेटको छ । समयबद्ध

यो पनि पढ्नुहोस,

पञ्चायत शैलीमा आफ्नो पक्षमा मान्छे डाम्दै देउवा


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस