Techie IT
×
गृहपृष्ठराजनीतिनेपाल र क्यानाडा सरकार एकसाथ अघि बढ्ने

नेपाल र क्यानाडा सरकार एकसाथ अघि बढ्ने


उपप्रधानमन्त्री ईश्वर पोखरेल र क्यानाडा सरकारका राष्ट्रिय रक्षामन्त्री हारजित साज्जनबीच आज अपराह्न टेलिफोन वार्ता सम्पन्न भएको छ ।

वार्तामा दुवै देशका सरकारबाट हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासका सम्बन्धमा छलफल हुनुका साथै यसलाई अझैै प्रभावकारी बनाउन दुई देशबीच पारस्परिक सहयोग गर्ने विषयमा छलफल भएको रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले जानकारी दिए ।

रक्षामन्त्रीसमेत रहेका पोखरेलले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस रोगबाट मृत्यु हुने क्यानेडियन नागरिकप्रति आफ्नो व्यक्तिगत र नेपाल सरकारका तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै सङ्क्रमित नागरिकलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरे ।

नेपाल सरकारले यस महामारीको नियन्त्रण र व्यवस्थापनका लागि चालेका कदमका बारेमा उनले क्यानडाका रक्षामन्त्रीलाई जानकारी गराए । उनले यसैबीचमा अघिल्लो महिना नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र मित्रराष्ट्र क्यानाडाका गभर्नर जेनरलबीच कोभिड–१९ महामारी नियन्त्रण र व्यवस्थापन गर्ने सम्बन्धमा भएको सूचनाको आदान प्रदानको स्मरण गर्दै सन् २०१८ मा संयुक्त राष्ट्र सङ्घीय साधारणसभामा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोको भेटवार्ताको स्मरण समेत गरे । उनले यस्ता उच्चस्तरीय वार्ताबाट दुई देशबीचको सम्बन्ध अझै गाढा र फराकिलो हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा क्यानाडा राष्ट्रिय रक्षामन्त्री साज्जनले कोभिड–१९ को विश्वव्यापी महामारीको नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गरेका प्रयासहरुको सराहना प्रकट गर्दै आगामी दिनमा नेपाल र क्यानाडा सरकार दुवै एकसाथ अघि बढ्ने विश्वास प्रकट गरे। टेलिफोन वार्ताका अवसरमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot


Leave a Reply

Your email address will not be published. Required fields are marked *