गृहपृष्ठ ∕
राजनीति ∕
जनयुद्धका ‘कमाण्डर’ प्रचण्डबाट सहिद रामबृक्षप्रति उच्च सम्मान ब्यक्त
जनयुद्धका ‘कमाण्डर’ प्रचण्डबाट सहिद रामबृक्षप्रति उच्च सम्मान ब्यक्त
काठमाडौं, २ भदौ । आज जनयुद्धका महान् सहिद रामवृक्ष यादवको २६ औं स्मृति दिवस । दिवसका अवसरमा सहिद यादवप्रति जनयुद्धका कमाण्डर, पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च सम्मान ब्यक्त गरेका छन् ।
नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष प्रचण्डले यादवको तस्बिरमा माल्यार्पण गरी सम्मान प्रकट गरेका हुन् ।
को हुन् रामबृक्ष ?
महान शहीद एवम् मधेसका लोकप्रिय क्रान्तिकारी नेता यादव ‘मास्टर साहेव’ उपनामले चिनिन्थे ।
धनुषाको बर्मझियामा जन्मिएका यादवलाई तत्कालीन शेरबहादुर देउवा सरकारले बर्मझियामै हत्या गरेका थिए । २०५१ भदौ १ गते नेपाल बन्दको कार्यक्रम सकेर भोलिपल्ट भदौ २ गते बीरेन्द्र बजारबाट घर फर्कदै गर्दा सादा पोशाकमा रहेका प्रहरी र कांग्रेसका कार्यकर्ताहरुले घरेलु हतियार प्रयोग गरी विभत्स तरिकाले यादवको हत्या गरेका थिए ।
नेपालमा जनयुद्ध शुरुवातको समयमा केन्द्रीय तहबाट भएको यो ठूलो बलिदान थियो । तराईमा माओवादीको प्रभाव विस्तार रोक्ने देशी–विदेशी षड्यन्त्रमा यादवको हत्या भएको माओवादी निष्कर्ष थियो । रामबृक्ष यादवको हत्या भएको आज २६ औँ वर्ष पुगिसकेको छ ।
तराई क्षेत्रमा सामन्त जमिन्दारहरुले गाँउका जनतामाथि गरेको थिचोमिचो, अन्याय, अत्याचार देखेर नै त्यसको अन्त्य गर्न कम्युनिस्ट बनेका रामबृक्ष यादब एक होनहार, इमान्दार र कर्मठ योद्धा थिए । यादव वर्गप्रतिको इमान्दारीता र क्रान्तिप्रतिको निष्ठा भावले भरिएका व्यक्ति थिए । उनी कम्युनिस्ट क्रान्तिकारीहरुका लागि वैचारिक प्रेरणा र प्रतिबद्धताका अगुवाका रूपमा रहिरहने छन् । नेकपाले प्रत्येक वर्ष भदौ २ गते यादवको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

क्याटेगोरी :
राजनीति
ट्याग : #breaking,
#hot,
#rambrikshya