नेकपा सचिवालय बैठक : छ सदस्यीय कार्यदल अनुमोदन
काठमाडौँ, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित छ सदस्यीय कार्यदल अनुमोदन गरेको छ । बैठकमा कार्यदलबारे छलफल भई त्यसलाई सकारात्मक रुपमा लिई अनुमोदन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कार्यदललाई देशको लागि गर्नुपर्ने कार्यभारबारे समेत सुझाव दिने जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले बताए।
कार्यदलले उत्साहित ढङ्गले काम गरी चाँडै प्रतिवेदन पेश गर्ने उनले बताए । “पार्टीको सङ्कट निवारणका लागि विधिसम्मत ढङ्गले काम गर्दा सहज हुने भन्दै उनले सचिवालयबाटै कार्यदल गठन गरेको भए अझ राम्रो सन्देश जान्थ्यो” भने । “पार्टी एकतावद्ध हुने, सङ्कटको निवारण हुने र पार्टी महाधिवेशनतिर जाने विषयमा केन्द्रित छ, कार्यदलले सोही विषयमा गृहकार्य गरेर प्रतिवेदन तयार गर्नेछ । केही दिनमै पार्टीको समस्याको निकास निस्कनेमा पनि हामी आशावादी छौँ” प्रवक्ता श्रेष्ठले भने ।
गत साउन ३ गते बसेको सचिवालय बैठक आज सोमबार पुनः बसेको हो । साउन ३० गते शुक्रबार गठन भएको छ सदस्यीय कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरू शङ्कर पोखरेल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा ‘प्रभाकर’ र पम्फा भुषाल सदस्य छन्।
नेकपा सचिवालयमा अध्यक्षद्वय ओली र दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य हुन् । सचिवालय बैठक बिहान ९ः३० बजेदेखि बालुवाटारमा बसेको थियो ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking,
#nekapa,
#नेकपा