सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक विवाद समाधानको खाका बनाउन छ सदस्यीय कार्यदल गठन गरेको छ ।
शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा कार्यदल गठन गर्ने सहमति भएको हो ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, पम्फा भुसाल, शंकर पोखरेल, जनार्दन शर्मा र सुरेन्द्र पाण्डे सदस्य छन् ।
कार्यदलले पार्टीमा उत्पन्न समस्या समाधानका सम्बन्धमा कुन विषयमा कसरी सहमति गर्ने भनेर लिखित रुपमा दुई अध्यक्षलाई लिखित सुझाव पेश गर्नेछ । त्यसआधारमा दुई अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्नेछन् । त्यसपछि स्थायी कमिटी बैठक सुचारु हुनेछ ।
यो कार्यदलले सहमतिमा मात्र प्रस्ताव ल्याउने सम्भावना छ । खासगरी महाधिवेशन, कार्यदिशा, अध्यक्षद्वयको कामको ठोस बाँडफाँट, संघीय, प्रदेशको मन्त्रीमण्डलको पुनर्गठन, चर्काे विवादमा रहेको एमसीसीका बारेमा नयाँ सहमतिमा पुग्ने विश्वास लिइएको छ । यसले दुई अध्यक्षसहित पार्टीमा धेरै ठूलो विश्वासको संकट पैदा भएको थियो । यसै विषयलाई लिएर पार्टी केन्द्रले झलनाथ खनालको नेतृत्वको कार्यदल बनाएको थियो । यसले संशोधन गरेर मात्र एमसीसी पारित गर्नुपर्ने प्रस्ताव गरेको थियो ।
कोरोना भाइरसको महामारी, बाढीपहिरो लगायत विषयमा जुट्नुपर्ने बेलामा पार्टी नेतृत्व विवादमा अल्झदा जनता र कार्यकर्तामा समेत नकारात्मक सन्देश गइरहेको सन्दर्भमा खासगरी दुई अध्यक्ष केपी ओली र प्रचण्ड दुवै जना एक कदम पछि हटेका छन् । पार्टीका अन्य शीर्ष नेताले पनि एकताका लागि सहमति दिएका छन् ।
छ सदस्यीय कार्यदले सम्भवतः आज या भोलि नै साझा प्रस्ताव ल्याउने सम्भावना छ । अध्यक्ष तथा प्रधानमन्त्रीले पाँच दिनभित्र पार्टीको समस्या हल हुन्छ भनेको आज दोस्रो दिन हो । विवादित विषयमा यो कार्यदल पस्ने सम्भावना छैन ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking