Techie IT
×
गृहपृष्ठराजनीतिनागरिकमाथि दमन गरेर सरकारले लोकतन्त्र विरोधी चरित्र देखायो : पशुपति शमशेर

नागरिकमाथि दमन गरेर सरकारले लोकतन्त्र विरोधी चरित्र देखायो : पशुपति शमशेर


काठमाडौं, ३० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकमाथि दमन गरेर सरकारले लोकतन्त्र विरोधी चरित्र देखाएको भन्दै चिन्ता प्रकट गरेका छन् । प्रधानमन्त्री केपी ओलीको मनसाय जस्तै कोभिड–१९ विरुद्ध सशक्त व्यवस्थापन माग गर्ने जनतामाथि राजधानीमा पानी र लाठीको बल प्रयोग गरेर सरकारले अन्याय गरेको अध्यक्ष राणाको भनाइ छ ।

‘कोभिड–१९ विरुद्ध ध्यानकेन्द्रीत गरौं भन्ने प्रधानमन्त्री र शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकका उद्देश्य समान छ । जनहितको पक्षमा उभिएका नागरिकमाथि सरकारी दमन अन्यायपूर्ण छ । पानीको फोहरा र लाठी प्रहार संविधानप्रदत्त हक प्रतिकूल छ,’ उनले बिहीबार ट्वीट गर्दै भने । संविधान र लोकतन्त्रको आधारभूत मान्यता विपरीत सरकार असहिष्णु भएको भन्दै राणाले प्रश्न गरे, ‘सरकारको ध्यानसमेत आकर्षण गर्न नपाइने कस्तो लोकतन्त्र हो यो ?’

प्रकोप व्यवस्थापनको पछिल्लो गतिविधिबाट सरकार गलेको कुरा स्पष्ट भएको राप्रपा अध्यक्ष राणाले टिप्पणी गरे । सरकार स्वयम भगवान भरोसाको अवस्थामा पुगेको उनको भनाइ छ । ‘कोरोना संक्रमित विरामी, लक्षण नदेखेपछि ४–५ दिनमै अस्पतालबाट घर फर्काउने नीति सुरू भएको छ । व्यापक जाँच आवश्यक भए पनि, परीक्षण गर्न नसक्ने अवस्था सरकार आफैंले स्वीकार गरेको छ,’ उनले भने । ‘ कोभिड–१९ विरुद्धको संघर्षमा सरकारले यसरी हात उठाउनु, भगवान भरोसा नभए के हो ? ’


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस