काठमाडौं । आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा हुने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिबशेन अनिश्चितकालसम्मका लागि पछि धकेलिने सम्भावना बढेर गएको छ । आफू दोहोरिने सुनिश्चित ठानेर सभापति शेरबहादुर देउवाले महाधिबेशनको तयारी अघि बढाएका थिए । तर, उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवार बन्ने तयारी गरेपछि देउवा शशंकित बनेका छन् । उनले केही दिन निधिलाई मनाउने प्रयास गरेका थिए तर यो प्रयास सफल नभएपछि देउवा महाधिबेशन नगराउने मनस्थितिमा पुगेका हुन् ।
देउवाले अघिल्लै महाधिबेशनमा निधिलाई भावी सभापतिको आश्वासन दिएका थिए तर निधि उम्मेदवार भइहाल्लान भन्ने अनुमान उनले गर्न सकेका थिएनन् । सुरुमा देउवाले निधिको तयारीलाई पत्याएका पनि थिएनन् । जब निधिले महामन्त्री डा. शशांक कोइरालासँग एक चरणमा र पूर्व उपसभापति प्रकाशमान सिंहसँग दुई चरणमा वार्ता गरिसकेको सूचना पाए त्यसपछि देउवाले आफ्नो संयन्त्र परिचालन गरे । महामन्त्री कोइराला र पूर्वउसभापति सिंहसँग निधिले के के कुराकानी गरे ? भन्ने सूचना पाएपछि देउवा थप शशंकित बनेका हुन् ।
निधिले कुनै हालतमा नछाड्ने संकेत पाएपछि देउवाले नेपाल तरुण दलका पूर्व अध्यक्ष एवम् जनकपुरका नेता महेन्द्र यादवलाई आफ्नो निवासमा बोलाएर भने, ‘विमलेन्द्रले मलाई छाडिहाल्यो, अब जनकपुरबाट तपाई नै हो, सहमहामन्त्री पदमा मेरो टिमबाट चुनाव लड्ने तयारी थाल्नोस् ।’ तर, यादवले दुई वटा तर्कअघि सारे । पहिलो तर्क थियो, ‘निधि उम्मेदवार बने भने तपाईलाई चुनाव जित्न सजिलो हुन्न, बहालवाला सभापति हार्ने गरी चुनाव लड्नु हुन्न ।’ दोस्रो तर्क थियो, ‘बालकृष्ण खाण पनि तपाइँसँग रुष्ट बनेका छन्, मलाई उनैले तरुणदलको अध्यक्ष बनाएका हुन्, खाण जहाँ उभिन्छन् म पनि त्यहीँ हो ।’ साथै उनले निधि र खाणलाई विश्वासमा लिएर मात्रै उमेदवारी घोषणा गर्न सभापति देउवालाई सुझाव दिए । यादवको यो सुझावपछि देउवा शशंकित बनेका हुन् । निधि उमेदवार बनेको खण्डमा आफूले चुनाव जित्ने सम्भावना समाप्त हुने निश्कर्षमा पुगेका देउवाले महाधिबशेन टार्नु बाहेक अर्को विकल्प देखेका छैनन् ।
उसो त सभापति देउवाले निधिलाई मनाउनका लागि महामन्त्री पूर्णबहादुर खड्कालाई पठाएका थिए । खड्काले देउवाको सन्देश सुनाएपछि निधिले भने, ‘गत १३ औं महाधिबेशनमै देउवाले मलाई बचन दिइसक्नु भएको छ, यसबारे देउवासँग अन्तिम कुराकानी गर्न बाँकी नै छ, अन्तिम कुराकानी नगर्दासम्म उम्मेदवारी घोषणा गर्दिन ।’ देउवाले छाडेनन् भने कसरी चुनाव जित्नु हुन्छ ? भन्ने जिज्ञासा खड्काले राखेका थिए । यो जिज्ञासामा निधिको जवाफ थियो, ‘म ६५ वर्ष भइसकेँ । १५ औं महाधिबेशनसम्म ७० वर्ष नाघिसक्छु, त्यसपछि उमेरका कारणले पनि मेरो सान्दर्भिकता सकिन्छ । महामन्त्री उपसभापति भइसकेँ, उपप्रधानमन्त्री पनि भइसकेँ, अब के का लागि प्रतिक्षा गर्नु ?’
गत बिहीबार आफ्नो निवासमा पदाधिकारीहरुको बैठक राखेर सभापति देउवाले विजयकुमार गच्छदारमार्फत् महाधिबेशनको मिति फागुनको सट्टा जेठमा सार्ने प्रस्ताव राखेका थिए । अहिले नै जेठमा सार्दा कार्यकर्ताहरुले पूर्वतयारीलाई ध्यान नदिने भन्दै सार्नै परे पुस माघतिर निर्णय गर्ने तर्क वरिष्ठ नेता रामचन्द्र पौडेलले राखे । यो तर्कलाई उपसभापति निधिले समेत समर्थन गरेपछि देउवाको बोल्ने ठाउँ रहेन । त्यसपछि देउवाले पूर्ण खड्कामार्फत अर्को प्रस्ताव राखे, ‘क्रियाशील सदस्यको संख्या ५० प्रतिशत वृद्धि गर्ने, यसका लागि फारम भर्ने म्याद एक महिना थप्ने ।’ देउवाको यो प्रस्तावको भने कसैले विरोध गर्न सकेनन् । क्रियाशील सदस्यताको वितरणको म्याद एक महिना थपिनुको अर्थ अरु मिति पनि थपिनु हो ।
क्रियाशील सदस्यताको अन्तिम फाइनल नगरी अरु प्रक्रिया अघि बढ्दैन । अन्तिम फाइनल गर्ने सभापति देउवाले नै हो । यो काम पनि देउवाले एक डेढ महिना लम्व्याइ दिने निश्चित छ । यसरी महाधिबेशनको मिति धकेलियो भने मुलुक स्थानीय निर्वाचनको माहौलमा प्रवेश गरिसक्छ । २०७८ मंसीरमा स्थानीय, २०७९ बैसाखमा प्रदेशसभा र २०७९ मंसीरमा आम निर्वाचन हुन्छ । यी निर्वाचनको संघारमा महाधिबेशन हुने कुरै भएन । त्यसैले तीन वर्ष पर धकेल्ने रणनीति देउवाको छ । तीन वर्ष पर धकेल्न सकेको खण्डमा तीन वटै निर्वाचनमा देउवा आफैले टिकट बाँड्न पाउँछन् । यसक्रममा थप शक्ति आर्जन हुन्छ । यहीबीचमा प्रधानमन्त्री बन्ने सम्भावना पनि रहन्छ । प्रधानमन्त्री बनेर पार्टीको महाधिबेशन गराउँदा आफूलाई के के लाभ हुन्छ ? त्यो पनि देउवाले बुझेका छन् । समयबद्ध साप्ताहिकबाट
क्याटेगोरी :
राजनीति