काठमाडौँ, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले शीर्ष तहमा संवादविहीनताको अवस्था छ । ‘कोभिड १९ सङ्क्रमणकै कारण हो कि ? त्यसलाई बहाना बनाएर नेताहरू आन्तरिक गुट छलफलमा व्यस्त भएर हो’ चिन्ता नेतामाझ देखिन थालेको छ । कोरोना सङ्क्रमण व्यापकरुपमा फैलिन थालेपछि केही शीर्ष नेताहरूले परीक्षण गराई ‘होम क्वारेन्टाइन’मा बसेका छन् ।
सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा समेत कोरोना परीक्षण ‘पोजिटिभ’ देखिएपछि नेताहरू झन त्रसित हुनुभएको सचिवालयका सदस्यहरूको बुझाई छ । तर गुट छलफललाई आन्तरिक रुपमा तिव्रता दिनुले भने केही नेता र कार्यकर्तालाई आश्चर्यमा पारिरहेको छ ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच साउन २० यता संवाद हुन सकेको छैन । वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पनि आन्तरिक छलफलमा सक्रियता देखिए पनि नेतृत्वसँग उनीहरुको पनि संवाद भएको पाइँदैन । यसैबीच पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र स्थायी कमिटी सदस्य विष्णु रिमालबीच सामाजिक सञ्जाल मार्फत आरोप प्रत्यारोप हुन थालेपछि त्यसले गुटबीचमा अझ दूरी बढाएको आँकलन कार्यकर्ताहरूले गरेका छन् ।
पार्टी भित्रको आन्तरिक समस्या नेतृत्व तहमै संवाद र छलफल गरेर समाधान गर्नुपर्ने माग नेताहरूको छ । तर दुई अध्यक्षबीचको संवादले न गति लिन सकेको छ, न ठोस सहमतिको उपाय ‘पकड्न’ सकेको छ । गत असार १० गतेबाट शुरुभएको स्थायी कमिटीको बैठक केही दिन बसेर स्थगित छ । बैठकका एजेण्डा पनि ओझेलमा परे । दुई अध्यक्षबीच कुरा मिलेपछि बैठकले निरन्तरता पाउने आशा नेताहरूमा भएपनि दुई अध्यक्षबीच सहमति बन्न नसक्दा सचिवालय र स्थायी कमिटीको बैठक दुवै अन्यौलमा छ ।
केही नेताहरूले केन्द्रीय कमिटी बैठकको माग राखेपनि त्यसको सुनुवाई भएको छैन । हस्ताक्षर अभियानले गति लिएन ‘पार्टी फुटको अवस्थामा पुगेको’ आँकलन नेता तथा कार्यकर्ता तहमा पुगेपछि त्यसलाई जोगाउन नेकपाका सांसदहरूले हस्ताक्षरको अभियान शुरु गरे । नेकपाका कुल १७४ सांसदमध्ये पहिलो चरणमा ६१ जनाले हस्ताक्षर गरे । सांसदहरूले गत आइतबार हस्ताक्षरसहितको पत्रकार सम्मेलन पनि गरे । तर हस्ताक्षर अभियानले गति लिन सकेन ।
अहिलेसम्म ७१ जना सांसदको हस्ताक्षर भइसकेको सांसदहरूको भनाई छ । प्रतिनिधिसभाका सांसद नारदमुनी रानाले हस्ताक्षर अभियान जारी रहेपनि त्यसले गति लिन नसकेको स्वीकारे। पार्टी फुटको विरुद्धमा सांसदहरूले हस्ताक्षर गरी नेतृत्वलाई दबाब दिने उद्देश्यसाथ अभियान चलाए पनि त्यसमा पनि ‘गुट’को छायाँ परेको उनले प्रष्ट पारे । त्यही कारण अहिले अभियानले गति लिन सकेन उनले भने । अध्यक्ष प्रचण्ड पक्षले पार्टीलाई विधि र विधानको वकालत गरेपनि उहाँहरू आफैले विधि मिचेर काम गरिरहेको सांसद रानाको टिप्पणी छ । “विधि विधान अध्यक्ष र प्रधानमन्त्रीलाई मात्र लाग्ने होइन, पार्टीका नेता र कार्यकर्ता सबैलाई लाग्ने हुनुपर्यो” सांसद रानाले भने ।
अर्का सांसद यज्ञराज सुनुवारले हस्ताक्षर अभियान जारी रहेको र त्यसले पूर्णता पाउने बताए । कोरोना सङ्क्रमण र मन्त्री तथा स्थायी कमिटीका सदस्यहरूले हस्ताक्षर नगरेपछि अभियान केही समय ढिला भएको बताउनुहुँदै सांसद सुनुवारले भने “केही अतिवादी सांसदका कारण हस्ताक्षर अभियान ढिलो भएको हो, यसले पूर्णता पाउँछ ।”पार्टी फुटबाट बचाउन कार्यकर्ताहरूको आग्रहअनुसार सांसदले जिम्मेवारी निर्वाह गरिरहेको भन्दै उहाँले नेतृत्वले त्यसलाई बुझ्नुपर्ने बताए । सांसद सुनुवारले आन्तरिक रुपमा समिक्षासहित अभियान जारी रहेको बताए।
गौतम सूत्रले काम गरेन
दुई अध्यक्षबीच विमति बढेपछि सहमतिको उपायसहित पार्टी उपाध्यक्ष वामदेव गौतमले साउन १३ गते छ बुँदे प्रस्ताव ल्याए । त्यो प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक देखिए पनि त्यो सूत्रले पनि काम गरेन । पार्टी एकता जोगाउन आफूले बीचको प्रस्ताव ल्याएको उपाध्यक्ष गौतमले प्रष्ट पारेपनि प्रस्तावमाथि दुई अध्यक्षबीच घनीभूत छलफल हुन सकेन । गोरखापत्रबाट
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking