आफुलाई कुनै गुटमा संलग्न नगरिदिन बामदेवको आग्रह
काठमाडौँ, ३२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफू कुनै गुटमा संलग्न नरहेकाले कुनै गुटमा संलग्न नगरिदिन आग्रह गरेका छन् । शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले त्यस्तो आग्रह गरेका हुन् । “पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको बैठक वा भेलालाई म गुट मान्दैन, मलाई यो वा त्यो गुटसँग सम्वन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु” उनले भनेका छन् ।
पार्टी अध्यक्ष केवल व्यक्तिमात्र नभई पार्टीभित्रको सर्वस्वीकार्य संस्था भएको उनले प्रष्ट पारेका छन्। “पार्टी अध्यक्षहरू दुवै वा एक्लै उहाँहरूले बोलाउँदा मैले भेट्ने गरेको छु” उल्लेख गर्दै उपाध्यक्ष गौतमले भनेका छन्, “मैले समय–समयमा भेट गरेको बेला क.ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु, क. प्रचण्डलाई पनि उहाँकै अगाडि उहाँको आलोचना गर्ने गरेको छु।” अहिले पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसग्दा तीनवटा विचार समूह देखापरेको उनले चर्चा गरेका छन् ।
समूहमा अध्यक्षद्वय ओली, प्रचण्ड र वरिष्ठ नेता नेपालको नाम उनले उल्लेख गरेका छन् । तर आफू कसैसँग न जोडिएको उनले प्रष्ट पारेका छन् । “यी समूहमा कसैसँग म जोडिएको छैन र जोडिन पनि चाहन्नँ, तर क.ओली र क.प्रचण्डले भेट्न बोलाउँदा म जाने गरेको छु, सल्लाह सुझाव र राय पनि दिने गरेको छु” उपाध्यक्ष गौतमले थपेका छन्,, “मैले आफुलाई स्वतन्त्र राख्ने कोसिस पनि गरेको छु, पछिल्लो मैले पार्टीमा राखेको छ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो ।”
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई प्रधानमन्त्री समक्ष सिफारिस गरेको समाचारको पनि उनले खण्डन गरेका छन् । “प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सर्बत्र मिडियामा व्याप्त पारिएको छ” उनले आपत्ति जनाएका छन् । “सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकारभन्दा बाहिरको विषय हो” उनले प्रष्ट पारेका छन् ।
क्याटेगोरी :
राजनीति
ट्याग : #bamdev gautam,
#breaking,
#nekapa