Techie IT
×
गृहपृष्ठराजनीतिकम्युनिष्ट विचार, दिशा र संस्कृतिसहित विधिको वहस नै सही धार हो : लेखनाथ न्यौपाने

कम्युनिष्ट विचार, दिशा र संस्कृतिसहित विधिको वहस नै सही धार हो : लेखनाथ न्यौपाने


काठमाडौं, २२ साउन । सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेले नेकपा भित्रको वहस/विवाद, पद, पावर र पैसाको लागि हो भन्ने बुझाई जनसाधारण र बौद्धिक समुदायमा बाक्लोगरी स्थापित भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्, ‘अझ स्वास्थ्य महामारी एवं बाढी, पहिरो र डुवानले जनजीवन कष्टसाध्य भएको बेला यस्तो विवाद किमार्थ राम्रो होइन भन्ने विषय सामान्य होइन । यसको अर्थ पार्टी विधि र निर्णय नमान्ने स्वेच्छाचारी प्रवृत्ति ठिक भन्न किमार्थ सकिँदैन । हामीले यो विषयलाई कसरी लिएका छौं ?’

नेकपा भित्र देखिएको वर्तमान् समस्याप्रति संकेत गर्दै उनले लेखेका छन्, ‘सायद यही विषयलाई चिर्न होला कमरेड प्रचण्ड लगायत नेताहरुले विचार र विधि हाम्रा प्रमुख वहसका विषय हुन्, कुर्सी होइन भन्नुभएको । यो विषय सही नै छ तर वहसको विषय यी हुन् भनेर स्पष्टसँग सार्वजनिक गर्न ठिला भयो किनकि शुरुमा हाम्रो वहस, विचार र विधिमा हो भन्ने विषय न नेताहरुले बेलैमा सार्वजनिक गर्नुभयो, न त कसैले तलबाट पैरबी नै गर्यो । अलिअलि यस विषय केन्द्रित वहस वा पैरबीलाई पूर्व समूहको दोसी चश्माले हेरियो ।’

पार्टीभित्रको विवाद/वहसलाई इमान्दारितापूर्वक विचार, दिशा, विधि र संस्कृतिमा केन्द्रित गर्नुपर्ने भन्दै उनी लेख्छन्, ‘ताकि कम्युनिस्ट विरोधी विचार, दिशा, विधि र संस्कृति कमजोर बन्दै पराजित होस् । विचार र विधिप्रति त्यो व्यक्ति वा समूह सबभन्दा पहिला इमान्दार हुनुपर्दछ/देखिनुपर्छ, जसले विचार र विधिको विषय उठाएको छ ।’

‘कम्युनिस्ट संस्कृतिमा हामी (जसले विधिको कुरा उठाएका छौंं) सर्वसाधरणले महशुष गर्नेगरी बदलिएनौ भने विधिको विषय खास बलशाली बन्न सक्दैन र अन्तिममा पदकै लागि भन्ने विषय प्रमाणित हुनेछ । हामीहरु यस विषयमा गम्भीर र इमान्दार बन्न सक्छौं त ?’ उनले उल्लेख गरेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपाका केन्द्रीय सदस्य तथा पूर्व अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेले नेकपा भित्रको वहस/विवाद

प्रतिक्रिया दिनुहोस