Techie IT
×
गृहपृष्ठराजनीतिनेकपाका दुई अध्यक्ष प्रचण्ड–ओलीबीच बार्ता हुँदै

नेकपाका दुई अध्यक्ष प्रचण्ड–ओलीबीच बार्ता हुँदै


काठमाडौँ, २१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज पनि वार्ता हुने भएको छ । साँझ ५ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

पछिल्लो चार दिनदेखि दुई अध्यक्षबीच निरन्तर वार्ता भइरहेको छ । दुई अध्यक्षबीच नै पार्टी तथा सरकार सञ्चालनको विषयमा मुख्य मतभेद देखिएपछि सहमतिको प्रयास स्वरुप अध्यक्षद्वयबीच वार्ता र संवाद हुँदैआएको छ । यद्यपि ठोस सहमति भइनसकेको अध्यक्षद्वयका सचिवालयको भनाइ छ ।

हिजो मङ्गलबार बालुवाटारमा भएको वार्तामा वरिष्ठ नेता झलनाथ खनाल तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङको पनि सहभागिता थियो । दुवै अध्यक्षबीच पार्टीको बैठक सञ्चालन गर्ने विषयमा वार्ता भएपनि ठोस सहमति हुन नसकेको बैठकमा सहभागी नेताहरूले बताएका थिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले विवादित विषयलाई सल्टाउन सचिवालय बैठक बोलाएर समाधान खोज्नुपर्ने भनेका छन् । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिनुपर्ने अडान राख्नुभएको बुझिएको छ । स्थायी कमिटी बैठक अझै मुल एजेण्डामा प्रवेश नै नपाएको भन्दै छिटो बैठक आह्वान हुनुपर्ने अध्यक्ष प्रचण्डको माग छ ।

पूर्वनिर्धारित साउन १३ गतेको स्थायी कमिटी बैठकलाई प्रधानमन्त्री ओलीले स्थगित गर्नु भएपछि अध्यक्ष प्रचण्ड पक्षले त्यसमा कडा आपत्ती जनाएको थियो । आफ्नो पक्षका स्थायी कमिटीका सदस्यको भेला सोही दिन बालुवाटारमा नै गरे । बैठकमा २९ जना सदस्यहरूको सहभागिता रह्यो । सोपछि स्थायी कमिटी बैठक बस्ने मिति नै तय हुन सकेको छैन ।

दुई अध्यक्षबीचको मुख्य विवादलाई वार्ता र संवादको माध्यमबाट सल्टाएर मात्रै पार्टीको बैठक राख्नुपर्ने सुझाव नेकपाका नेताहरूको छ । त्यसकै लागि सहमति गर्ने जिम्मेवारी दुई अध्यक्षलाई नेताहरूले दिनुभएको छ । दुई अध्यक्षबीच पछिल्लो दिनमा हरेक दिनजसो बैठक बसेपनि सहमतिको ‘सूत्र’ फेला पार्न सक्नुभएको छैन । सहमतिको प्रयासका लागि आज बुधबार साँझ पनि दुई अध्यक्षबीच वार्ता हुन लागेको हो ।

सहमतिको वामदेव सूत्र

बालुवाटारमा साउन १३ गते आयोजित प्रचण्ड पक्षीय स्थायी कमिटीको भेलामा पार्टी उपाध्यक्ष वामदेव गौतमले सहमतिको छ बुँदे प्रस्ताव राखेका थिए । त्यही प्रस्तावलाई अहिले दुई अध्यक्षबीचको सहमतिको ‘वामदेव सूत्र’को रुपमा व्याख्या हुँदैआएको छ । नेता गौतमको छ बुँदे प्रस्तावलाई लिएर दुई अध्यक्ष भैँसेपाटी गौतम निवासमै पुगेर छलफल गरिसकेका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष ओली १३ गते नै गौतम निवासमा पुगेर ‘डिनर छलफल’ गरे ।

नेता गौतमको प्रस्ताव राम्रो रहेको भन्दै उनले सहमति जनाएको गौतम सचिवालयले जानकारी गराएको थियो । सोपछि गौतमद्वारा प्रस्तावित छ बुँदे प्रस्ताव नै सहमति गर्ने विकल्पको रुपमा व्याख्या हुँदैआएको छ । नेकपाका अन्य नेताहरूले पनि सो प्रस्तावको समर्थन गरेका छन् ।

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने तर कार्यकारी अध्यक्षको जिम्मा अर्का अध्यक्ष प्रचण्डलाई दिनुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारका विषयमा निर्णय लिनुपूर्व पार्टीको सचिवालय बैठकमा परामर्श गर्नुपर्ने, पार्टीको बैठक बालुवाटारमा नगरी पार्टीको कार्यालयमै गर्नुपर्नेलगायत प्रस्ताव गौतमले गरेका थिए ।

सोही प्रस्तावका विषयमा छलफल गर्न अर्का अध्यक्ष प्रचण्ड मङ्गलबार मात्र भैँसेपाटीस्थित गौतम निवास पुगेका थिए । प्रधानमन्त्री ओलीले कोरोना बारे विज्ञहरूसँग बालुवाटारमा छलफल गरिरहनुभएका बेला अध्यक्ष प्रचण्ड भैँसेपाटी निवास पुगेका हुन् । बैठकमा सोही छ बुँदे प्रस्तावमै केन्द्रित भएर छलफल भएको नेता गौतमका सचिवालयले जानकारी गराएको छ ।
पार्टीको बैठक जुनसुकै कमिटीको भएपनि ठोस रुपमा हुनुपर्ने सुझाव नेताहरूको छ । स्थायी कमिटी बैठक होस् या सचिवालय बैठक, ठोस सहमति हुनेगरी होस् नेकपाका एक स्थायी कमिटी सदस्यले भने “आवश्यक परेमा केन्द्रिय कमिटीको बैठक पनि बस्न तयार हुनुपर्छ ।”


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपा

तपाईको प्रतिक्रिया दिनुहोस