Techie IT
×
गृहपृष्ठराजनीतियस्तो छ काँग्रेसमा नयाँ सदस्यता पाउने तरिका

यस्तो छ काँग्रेसमा नयाँ सदस्यता पाउने तरिका


काठमाडौं, १९ साउन । नेपाली काँग्रेसले आगामी १४औँ महाधिवेशन प्रारम्भिक तयारीलाई अगाडि बढाउने क्रममा क्रियाशील सदस्यताको चटारो सुरु भएको छ । वडा तहमा क्रियाशील सदस्यता वितरण अभियानलाई अगाडि बढाएसँगै यो चटारो सुरु भएको हो । यस अधिवेशनको क्रममा थप साढे दुई लाख नयाँ क्रियाशील सदस्य बनाउने काँग्रेसको योजना छ ।

क्रियाशील सदस्यता नवीकरण गर्न सजिलो भए पनि नयाँ क्रियाशील सदस्यता प्राप्त गर्न त्यति सजिलो छैन । क्रियाशील सदस्यता प्रदान गर्ने कार्यविधिमा वडा कार्यसमितिले क्रियाशील सदस्यताको सिफारिस गरी गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउनुपर्नेछ । वडा कार्यसमितिको बैठक गरी सोही बैठकमा वडाभित्रका क्रियाशील सदस्यसमेत आमन्त्रण गरी क्रियाशील सदस्यता दिनुपर्ने छ ।
त्यसरी सदस्यता दिएका व्यक्तिको नाम कार्यसमितिको बैठकबाट निर्णय गरी राय साथ गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउनुपर्ने छ ।

त्यसैगरी वडा कार्यसमितिले योग्यता पुगेका क्रियाशील सदस्यको नाम सिफारिस नगरेमा गाउँपालिका/नगरपालिका कार्यसमितिले आफू मातहतका वडा कार्यसमितिसँग क्रियाशील सदस्यता प्राप्त भएको दुई हप्ताभित्र बैठक गरी सिफारिस गर्नुपर्छ । त्यसरी सिफारिस भई आएका व्यक्ति योग्य ठहर भएमा मात्रै कार्यसमितिलाई क्रियाशील सदस्यताको फाराम उपलब्ध गराइने छ ।

गाउँपालिका/नगरपालिका कार्यसमितिले बैठक गरी क्रियाशील सदस्यताका लागि प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई विवरणको जानकारी गराई दुई हप्ताभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नेछ । प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सिफारिस प्राप्त भएको बढीमा एक महिनाभित्र प्राप्त सिफारिसमा योग्यता पुगेका व्यक्तिलाई कार्यसमितिको बैठकबाट निर्णय गरी क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गर्नेछ ।

यही साउन मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्य बनाउने कार्य सक्नुपर्ने परिपत्र काँग्रेस केन्द्रीय कार्यालयले गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #nepali congress

तपाईको प्रतिक्रिया दिनुहोस