Techie IT
×
गृहपृष्ठराजनीतिनेकपा निर्णय : केपी ओलीले पार्टी स्थायी कमिटीको बैठक स्थगित गर्नु विधान विपरित

नेकपा निर्णय : केपी ओलीले पार्टी स्थायी कमिटीको बैठक स्थगित गर्नु विधान विपरित


काठमाडौं, १३ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको मंगलबार बसेको स्थायी कमिटीको बहुमत सदस्य सहभागी बैठकले अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठक स्थगित गर्नु विधान विपरित भएको निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल, बामदेव गौतम, नाराणकाजी श्रेष्ठ लगायका नेताहरुको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक अर्का अध्यक्ष प्रचण्डसँग सहमतिबिना नै स्थगित गरेपछि प्रचण्ड–नेपाल पक्षका नेताहरूले बालुवाटारमा बैठक गरेका थिए।

‘आजको बैठक यसअघि तोकिएको बैठककै निरन्तरता हो। जुन बैठक अध्यक्ष कमरेड केपी ओलीले रोक्नु पार्टी विधानविपरीत र अनुचित भएको हो,’ बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संवाददाताहरूसँग भने,‘ आजको बैठकले एजेन्डामा छलफल नगरी सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ।’ ‘बैठकमा सहभागी हुने निम्तोलाई उहाँले स्वीकार्नु भएन। त्यसपछि हामी बैठक बसेका हौं,’ श्रेष्ठले भने।

पार्टी एकतामा देखिएको संकटलाई निकास दिन धैर्य र विवेकपूर्ण तरिकाले अघि बढ्ने निष्कर्षमा पनि आफूहरू पुगेको उनले बताए।

‘सकभर सहमतिकै माध्यमबाट अहिलेको समस्या समाधान गर्न दुई अध्यक्षबीच छलफल हुन्छ। हामी पनि अध्यक्ष र अरू कमरेडसँग छलफल गर्छौं,’ श्रेष्ठले भने, ‘हामी हरहालतमा एकताको रक्षा गर्ने पक्षमा छौं। हतारमा छिटो छिटो निर्णय गर्न चाहन्नौं।’

श्रेष्ठका अनुसार आजको बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए। नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्य छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपा


प्रतिक्रिया दिनुहोस