Techie IT
×
गृहपृष्ठराजनीतिनिराश देउवा

निराश देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भारतले एक्ल्याउँदै लगेको महसुस गर्न थालेका छन् । गत शुक्रबार साँझ आफ्ना निकटस्थ केही कार्यकर्ता समेतको पारिवारिक जमघटमा सभापति देउवाले यो गुनासो पोखेका हुन् । समाचार स्रोतका अनुसार सभापति देउवाले भनेका थिए– ‘मलाई भारतले नै सभापति बनाइ दियो तर भारतले नै असफल बनाइ दियो, किन असफल बनायो ? मैले बुझ्न सकेको छैन, आखिर उनीहरुको प्रस्ताव मैले मानेकै थिएँ ।’
नेपाली सेनाका केही पूर्व जर्नेल तथा विघटित राजपरिवारका नातेदारहरु समेतको उक्त जमघटमा आफ्नो पीडा सुनाउँदै गर्दा देउवाका आँखामा आँशु टलपल भएको थियो । खासगरी आफैले उपसभापति बनाएको विमलेन्द्र निधि खिलाफमा गएको र महामन्त्री बनाइएका पूर्णबहादुर खड्काले समेत अपेक्षित सहयोग नगरेको गुनासो सभापति देउवाको थियो ।

समाचार स्रोतका अनुसार सभापति देउवा पछिल्ला केही घटनाका कारण लिएर निराश बनेका हुन । पहिलो घटना लिम्पियाधुराको नक्सा जारी गरिएको विषयलाई लिएर हो । सरकारले नक्सा जारी गर्ना साथ विवेक शाह नाम गरेका एक जना पूर्वजर्नेल तत्काल देउवा कहाँ पुगेर समर्थनमा विज्ञप्ति जारी गर्न आग्रह गरे । देउवाले उपसभापति निधिलाई सोधे, तर निधिले हतार नगर्नोस भन्ने जवाफ दिए । त्यसपछि देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाए तर बैठकमा देउवा करिव करिव एक्लिए । पूर्व उपसभापतिद्वय गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह बाहेक सबैले नक्सा प्रकरणलाई स्वागत गर्न नहतारिन सुझाव दिए । यसपछि देउवाले केन्द्रीय समितिको बैठक बोलाए । महेश आचार्यलाई प्रयोग गरी इतर पक्षलाई साथ लिएर बहुमत पु-याए ।

नागरिकता विधेयकका सन्दर्भमा पनि करिव करिव यस्तै भयो । पदाधिकारीको बैठकमा देउवा अल्पमतमा परे । त्यसपछि उनले आफ्नो व्यक्तिगत धारणा भन्दै विदेशी बुहारी सरह ज्वाँइलाई पनि नागरिकता दिनु पर्ने भन्दै ट्वीट जारी गरे । यो ट्वीटको विषयलाई लिएर उपसभापति निधिले केन्द्रीय समितिमा सभापति देउवाले स्पष्टीकरण दिनु पर्छ भन्दै हङ्गामा मच्चाए । देउवा र निधिबीच भनाभन भयो । चित्त नबुझे तपाईंले उपसभापति पद छाड्दा हुन्छ भन्दै निधिलाई धम्क्याए । हुन्छ छाड्छु भन्दै निधि जुरुक्क उठेर बाहिरिने तरखर गरे तर निधिसँगै देउवा पक्षकै करिव एक दर्जन केन्द्रीय सदस्यहरु ज-याक जुरुक उठे । यस्तो देखेपछि देउवाले आफ्नो भनाई फिर्ता लिएको भन्दै निधिसँग क्षमा मागे । त्यसपछि उनले भने – ‘म केही बोल्दिन जे जे निर्णय गर्नुपर्छ गर्नोस् ।’

प्रधानमन्त्री ओलीलाई भेटेर संसदको चालू अधिबेशन अन्त्यका लागि सभापति देउवाले सहमति दिएको विषयमा केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पौडेलले अवाज उठाए । देउवाले रिजालजीलाई सोध्नोस् भन्दै मीनेन्द्रतिर देखाए । तर, निधिले आपत्ति जताउँदै भने – ‘यति कुरा उठिसकेपछि सभापतिले नै जवाफ दिने हो, मीनेन्द्रजीले दिएर मात्रै पुग्दैन ।’

केन्द्रीय समितिका पछिल्ला बैठकमा देउवाको प्रतिरक्षाका लागि सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य रमेश लेखक बाहेक कोही देखिएका छैनन् । यता इतर पक्ष भने आपसी प्रतिस्पर्धा बिर्सेर कोइराला परिवारलाई सभापतिको उम्मेदवार बनाउने विषयमा एकजुट हुने अवस्थामा पुगेको छ । महामन्त्री सशांक कोइराला वा शेखर कोइरालामध्ये एक जना मिलेर आउन उनीहरुले सुझाएका छन् । अहिलेसम्म दुवै कोइरालाले आफूलाई अध्यक्षको दावेदार भनिरहेका छन् । तर, उनीहरु दुईमध्ये अन्तिममा एक भएर आउने विश्वास धेरैले गरेका छन् ।

शेखर देश दौडाहामा दौडिरहे पनि उनले काठमाडौंमा सम्पर्क कार्यालय खुल्ला रुपमा खोलेका छैनन् । तर, महामन्त्री कोइरालाले महाराजगन्जको भाटभटेनी सुपरमार्केट पछाडि फराकिलो कम्पाउण्डसहितको ठूलो सम्पर्क कार्यालय खोलेर आफ्नो तयारी अघि बढाइसकेका छन् । सभापति पदमा आफू चुनाव लड्ने सहमति भइसकेको भन्दै कार्यकर्तासँगको भेटघाटलाई तीब्र बनाएका छन् । उनको सम्पर्क कार्यालयमा ठूलो भीड लाग्न थालिसकेको छ । वरिष्ठ नेता पौडेल र नेता प्रकाशमान सिंह समेत महामन्त्री कोइरालाको सम्पर्क कार्यालयमा जान थालिसकेकाले इतर पक्ष एक भएको महसुस देउवाले गरेका छन् । शशांक कोइरालाले अध्यक्ष छाड्ने अवस्थामा शशांकले खोलेको कार्यालय नै शेखरको हुने कोइराला निकट स्रोतले बताएको छ ।
एकातिर इतर पक्षमा सहमति हुनु र अर्कोतिर संस्थापन पक्षमा आफू एक्लिँदै जान थालेपछि देउवा निराश भएका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस