गृहपृष्ठ ∕
राजनीति ∕
पूर्व माओवादीका नेतासामू प्रचण्डको बयानः समाधानको प्रयास जारी छ
पूर्व माओवादीका नेतासामू प्रचण्डको बयानः समाधानको प्रयास जारी छ
काठमाडौँ, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको आन्तरिक विवाद समाधानको प्रयास जारी रहेको बताएका छन् । सोमबार बिहान पूर्व नेकपा (माओवादी केन्द्र) का नेताहरूसँगको छलफलमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
खुमलटार निवासमा पूर्वमाओवादीका स्थायी कमिटी सदस्य तथा अन्य नेताहरूलाई बोलाएर अध्यक्ष प्रचण्डले अहिलेसम्म भएको सहमतिको प्रयास, सचिवालय र दुई अध्यक्षबीचको छलफल र उपलब्धीका बारेमा घण्टौँ छलफल गरिएको पूर्वमाओवादीका नेताहरूले बताएका छन् । तर बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्ट भने काम विशेषले व्यस्त रहेकाले उपस्थिति नरहेको स्रोतले बतायो ।
नेकपा संसदीय दलका प्रमुख सचेतक तथा स्थायी कमिटी सदस्य देव गुरुङले बिहान भेला भएपनि अहिलेसम्म भएको सहमतिको प्रयासबारेमा अध्यक्ष प्रचण्डले ब्रिफिङ मात्र गरेको जानकारी दिए । “बैठक भएपछि अध्यक्षज्यूको कुरा सुन्ने र लागेको सुझाव दिने काम त भइहाल्छ नै, तर मूलतः वार्ता र बैठकमा भएका सहमतिको उपलब्धी र अवस्थाबारे प्रष्ट पार्ने काम अध्यक्षज्यूले गर्नुभयो” नेता गुरुङले भने ।
अध्यक्ष निवासमा हरेक दिनजसो नेताहरूको भेटघाट हुनु सामान्य भएको बताउँदै नेता गुरुङले दुई अध्यक्षबीचको सहमतिको प्रयासलाई सकारात्मकरुपमा लिँदै पार्टी एकतालाई कायम राख्दै सहमति गर्न सुझाव दिइएको बताए । “पार्टीभित्र केही समस्या देखिए पनि सहमति जुटाउने प्रयास जारी छ, सहमति गरेरै अगाडि बढिन्छ” अध्यक्ष प्रचण्डले बैठकमा नेताहरूलाई भनेको गुरुङले जानकारी दिए। मिडियामा आएकोजस्तो पदको लागि आफू सहमति गर्न लागेको कुरा गलत भएको बताउँदै अध्यक्ष प्रचण्डले अहिले देश र जनताको हितलाई नै ध्यान दिएर आफू काम गरिरहेको बताएका थिए।
पार्टीमा गम्भीर समस्या उत्पन्न भएपनि त्यसको व्यवस्थापन गरेर अगाडि बढ्ने विश्वास अध्यक्ष प्रचण्डले नेताहरूलाई दिलाएका थिए । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा प्रचण्डबीच नियमितरुपमा बालुवाटारमा सहमतिका लागि वार्ता र संवाद भइरहेको छ । दुई अध्यक्षबीच सहमति कायम गर्न सहज होस् भनेर पार्टीको स्थायी कमिटी बैठक पटकपटक सारिएको छ । भोलि ६ गते ११ बजेका लागि पनि स्थायी कमिटी बैठक आह्वान गरिएको छ । सोअघि दुई अध्यक्षबीच सहमति हुने विश्वास नेताहरूले लिएका छन् ।
यो
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking,
#नेकपा