अध्यक्ष ओलीसँग कुनै सहमति भएको छैन : प्रचण्ड
काठमाडौं, ४ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् । आइतबार सचिवालय र स्थायी कमिटीका केही सदस्यहरुसँग भएको भेटमा प्रचण्डले महाधिवेशन गर्ने प्रस्तावमा आफूले कुनै सहमति नगरेको बताएका हुन् । ‘छलफल गरौं सम्म भनेको हुँ, तर हाम्रो कुनै सहमति भएको छैन,’ उनले भने ।
शनिबार सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्य सहमत देखिएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले वैचारिक बहस नगरी महाविशेनमा गर्ने प्रस्तावमा प्रश्न उठाएका थिए । अर्का अध्यक्ष ओलीले महाधिवेशन गर्नका लागि नभई भुल्याउन अर्को कार्ड फालेको महसुस आफूलाई भएको प्रचण्डले बताएका थिए । विचारमा छलफल नै नभएको र सदस्यता टुंगो नलागेको अवस्थामा महाधिवेशन मंसिरमा सम्भव नभएको कुरा प्रचण्डले बताएको खुमलटार श्रोतको दावी छ ।
‘मैले हिजै हुँदैन भनेको थिएँ, बाहिर गलत समाचार सम्प्रेषण भयो । मैले हिजै मेरो सचिवालयबाट खण्डन गर्न लगाएँ,’ प्रचण्डको भनाइ उधृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘म तपाईंहरुको सुझाव र भावनाभन्दा बाहिर गएर कुनै पनि सम्झौता गर्दिन ।’
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking