Techie IT
×
गृहपृष्ठराजनीतिनेताहरू ! तपाईंहरूसामु नैतिक प्रश्न खडा भएको छः ज्ञवाली

नेताहरू ! तपाईंहरूसामु नैतिक प्रश्न खडा भएको छः ज्ञवाली


काठमाडौँ, ३ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रमुख नेताहरूलाई सहमतिमा आउन आग्रह गरेका छन् । नेताहरूको अगुवाईमै आजको उपलब्धी प्राप्त भएकाले त्यसलाई बचाउनुपर्ने उनको आग्रह छ।

पार्टीको सचिवालय बैठकअघि उनले नेताहरूलाई सामाजिक सञ्जालमा सामूहिक आग्रह गर्दै भनेका छन्, “असमझदारीहरूको व्यवस्थापन गर्न नसकेर एकीकृत पार्टी विभाजनको दिशातिर गयो भने, राज्यको नेतृत्व गर्ने यो दुर्लभ अवसर हाम्रो हातबाट गुम्न पुग्यो भने हामीले इतिहासको कठघरामा उभिएर निकै निर्मम प्रश्नहरूको सामना गर्न र निर्मम फैसला स्वीकार गर्न बाध्य हुनुपर्नेछ ।”

अग्रज नेताहरूको योगदान स्वार्थपूर्तिका लागि नरहेको स्पष्ट पार्दै नेता ज्ञवालीले भनेका छन्, “तपाईंहरूका सामु एउटा नैतिक प्रश्न खडा भएको छ, कतै हिजोको तपाईंहरूको बलिदान निश्चित स्वार्थ प्राप्तिका लागि मात्रै त थिएन ?” निर्णयमा पुग्नुअघि एकचोटी आफू उभिएको धरातल, आन्दोलन र राष्ट्रको भविष्यलाई आकलन गर्न उनले आग्रह गरेका छन् ।

धुरी खाँबो भाँचियो भने घरै भत्किन्छ चर्चा गर्दै स्थायी कमिटी सदस्य ज्ञवालीले थपे, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा० आज नेपालमा क्रियाशील विभिन्न पार्टीहरूको बीचमा एक थान पार्टी मात्रै होइन । यो त देशको मुख्य लोकतान्त्रिक शक्ति हो । संविधानको मुख्य रक्षक हो । यससँग कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूको मात्रै होइन, लोकतान्त्रिक गणतन्त्र, प्रगतिशील संविधान, सामाजिक न्याय र समावेशी प्रणाली सहितको सङ्घीयताकै भविष्य पनि जोडिएको छ ।”


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस