कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै निधि

काठमाडौं । पछिल्लो पटक बसेको केन्द्रीय समितिले पूर्वनिर्धारित मिति २०७७ फागुन ७ देखि १० गते नै १४ औं महाधिबेशन गर्ने निर्णय गरपछि नेपाली कांग्रेस भित्र सरगर्मी सुरु भएको छ । महाधिबेशनको सुनिश्चितता बढेर गएका कारण चुनावी सरगर्मी सुरु भएको हो ।
निर्धारित मितिमा महाधिबेशन हुन्छ कि हुन्न ? यदि भइहाल्यो भने कस्तो समिकरण बन्ला ? कसले बाजी मार्ला ? भन्ने आँकलन कांग्रेसका विश्लेषकहरुले सुरु गर्न थालिसकेका छन् । सभापति पदका लागि करिव आधा दर्जन जति नेताको नाम चर्चामा छ तर अन्तिम अवस्थामा बढीमा चार वटा टिम चुनावी मैदानमा उत्रने संभावना देखिएको छ ।
अहिलेको संस्थापन पक्ष र इतर पक्ष त चुनावी मैदानमा उत्रने नै भए । विगतमा कृष्णप्रसाद सिटौला जस्तै तेस्रो धारका रुपमा अर्को कुनै टिम बन्ने संभावना पनि उत्तिकै बढेर गएको छ । सभापति पदका लागि संस्थापन पक्ष र इतर पक्ष दुवैमा दुई–दुई वटा धार देखिएका छन् । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवाले दोहो¥याउने निश्चित जस्तै छ । सँगसँगै उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो तयारी तीब्र रुपमा अघि बढाएका छन् । यसैगरी इतर पक्षमा कोइराला परिवारले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई बाहिर राखेरै टिम बनाइरहेका छन् । कोइराला परिवारको तर्फबाट डा. शशांक कोइराला र डा. शेखर कोइरालामध्ये एक जना अघि सर्ने निश्चित भइसकेको छ । यस्तो अवस्थामा वरिष्ठ नेता पौडेल र सिटौलाले के कस्तो राणनीति बनाउँछन् ? हेर्न बाँकी छ ।
यसैगरी संस्थापन पक्षमा उपसभापति निधिले गृहकार्य अघि बढाएका छन् । देउवा र निधिबीच सहमति बनाएर कुनै एक जनालाई अघि सार्ने प्रयास नभएको होइन, तर दुवै नेता आ–आफ्नो अडानमा छन् । विगतमा सुवर्णशमशेर राणाबाहेक सबैले कार्यकाल दोहो¥याएकोले आफूले पनि अब एउटा मौका पाउनु पर्ने अडान सभापति देउवाको छ । तर गत १३ औं महाधिबेशनकै क्रममा भएको सहमति अनुसार अब देउवापछि हटेर आफूलाई मौका दिनु पर्ने अडानमा निधि छन् । त्यसैले देउवा र निधिबीच सहमतिको संभावना कम छ । आफूले चुनाव हार्ने निश्चित भएको अवस्थामा मात्रै देउवाले निधिलाई छाड्ने आँकलन गरिएको छ । यता वरिष्ठ नेता पौडेल र नेता सिटौला एक अर्कालाई छाड्ने अवस्थामा छैनन् । न त उनीहरु कोइराला वा देउवालाई साथ दिने पक्षमा छन् । त्यसैले पौडेल र सिटौलाको साथ लिएर तेस्रो धारका रुपमा अघि बढ्ने तयारी निधिको छ । यसका लागि नेता प्रदीप गिरिले पौडेल र सिटौलासँग दुई–तीन चरणको वार्ता गरिसकेका छन् ।
पार्टीले मौका पाएको अवस्थामा पौडेललाई राष्ट्रपति या प्रधानमन्त्रीका लागि मौका दिने, सिटौला र अर्जुननरसिंह केसीलाई उपसभापति, बालकृष्ण खाण र गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाउने गरी नेता प्रदीप गिरिले निधिका लागि टिम बनाउने तयारी गरेका छन् । निधिको पक्षमा बलियो माहौल बन्यो भने देउवा स्वयम् पछि हट्ने आँकलनका साथ वरिष्ठ पत्रकार किशोर नेपाल र पुरुषोत्तम दाहालले प्रचार संयन्त्रको गृहकार्य अघि बढाएका छन् ।
गत १३ औं महाधिबेशनमा सभापति, महामन्त्री र कोषाध्यक्ष गरी तीन जनाको टीम मात्रै बनाएर अघि बढेको तेस्रो धारले करिव १५ प्रतिशत मत हासिल गरेको थियो । तर यसपटक निधिको नेतृत्वमा बन्ने तेस्रो धारले पूरै टिम बनाउने अवस्था छ । देउवाको पाँच वर्षे कार्यकाल असफल भएको र कोइराला परिवारले नेपाली कांग्रेसको ७३ वर्षको इतिहासमा ५५ वर्ष मौका पाइसकेकोले आफूलाई उल्लेख्य मत प्राप्त हुने आँकलनमा तेस्रो धार देखिएको छ । यसैगरी नेपाली कांग्रेस पार्टी मधेसी समुदायले जोगाउँदै आए पनि अहिलेसम्म यो समुदायले नेतृत्वको लागि अवसर नपाएका कारण गडवड भएको भन्दै कार्यकर्ताहरु आकर्षित गर्न प्रदीप गिरि जुटेका छन् । निधि अधि सरेको अवस्थामा मधेसी मत ८० प्रतिसत तान्न सक्ने आँकलन गरिएको छ । नेपाली कांग्रेसमा करिव ३० प्रतिशत मत मधेसी समुदायको रहने गर्छ । देउवा, कोइराला र निधिको टिमबीच त्रिपक्षीय भिडन्त हुने र तीनै पक्षको अवस्था बराबरीमा रहने आँकलन गरिएको छ । कसैले पनि ५० प्रतिशत मत कटाउन नसके पहिलो र दोस्रो हुनेबीच फेरी प्रतिस्पर्धा हुने व्यवस्था विधानमा छ ।
तर, आफ्नो पद सुरक्षित नहुने अवस्थामा देउवाले महाधिबेशन गराउलान र ? भन्ने प्रश्न पनि त्यतिकै ज्वलन्त बनेको छ । १४ औं महाधिबेशन मार्फत सभापति पदमा चुनाव जित्नका लागि देउवाको अवस्था कत्तिको सुरक्षित छ ? भन्ने प्रश्न यतिबेला सबैभन्दा बढी महत्वपूर्ण छ । देउवाले केही फ्याक्टरहरु मिलाउन बाँकी छ । १३ औं महाधिबेशनमा देउवाले झिनो मत अन्तरले चुनाव जितेका हुन् । उनलाई चुनाव जिताउन प्रदीप गिरिले भारतीय दूतावास प्रयोग गरी निकै ठूलो रणनीति अवलम्वन गरेका थिए । तर, अहिले गिरि निधिलाई सभापतिको उमेद्वार बनाउने रणनीतिमा लागिसकेका छन् । खासगरी कृष्णप्रसाद सिटौलाको टिम, अर्जुननरसिंह केसीको टिम र केबी गुरुङको टीमले देउवालाई जिताउन त्यतिबेला निर्णायक भूमिका निर्वाह गरेको थियो तर यतिबेला यी तीनै वटा टिम देउवाको पक्षमा छैनन् । खुमबहादुर खड्काको निधनले पनि देउवालाई निकै प्रतिकूल अवस्था सिर्जना गरेको छ । खुमबहादुरको टिमका धेरैजसो नेता–कार्यकर्ताहरु देउवासँग बिच्किएका छन् ।
यसैगरी अर्जुन जोशी, फरमुल्लाह मन्सुर, आनन्द ढुंगाना, चीनकाजी श्रेष्ठ, शोभाकार पराजुली, चन्द्र भण्डारी, तारानाथ दाहाल, देवप्रकाश त्रिपाठी लगायतका धेरै नेताहरुले कोइराला परिवारका नेता चुनाव नलडेको अवस्थामा रामचन्द्र पौडेल भन्दा देउवा ठीक भन्दै साथ दिएका थिए । तर, यसपटक कोइराला परिवारका नेता नै सभापति पदमा अघि सर्ने संभावना छ । यति हुँदाहुँदै पनि देउवाका लागि सहज वातावरण बाँकी नरहेको होइन । इतर पक्षमा सभापति पदका आकांक्षी धेरै छन् । यी आकांक्षीहरुको व्यवस्थापन गर्न सहज छैन । तर, देउवा पक्षमा उपसभापति विमलेन्द्र निधि बाहेक सभापति पदका लागि अरु आकांक्षी छैनन् । १३ औं महाधिबेशनकै क्रममा देउवाले निधिलाई भावी सभापतिको बचन दिएका पनि हुन् तर देउवाले फेरि चुनाव लड्ने इच्छा प्रकट गरेको अवस्थामा निधिले नाई नास्ती गर्ने सम्भावना कम रहेको विश्लेषण देउवाको किचन क्याविनेटको छ । चुनाव जित्नका लागि व्यवस्थापकीय क्षमता भएका नेता पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले साथ दिएसम्म देउवा पछि हट्ने सम्भावना कम छ । तर, खड्का र गच्छदारको नाभी कहाँ जोडिएको छ ? भन्ने कुरा नेता प्रदीप गिरिले धेरै राम्रोसँग बुझेका कारण देउवालाई सहज अवस्था छैन । समयबद्ध साप्ताहिकबाट
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
प्रतिक्रिया