Techie IT
×
गृहपृष्ठराजनीतिराष्ट्रवादको कसीमा जसपा ?

राष्ट्रवादको कसीमा जसपा ?


जनता समाजवादी पार्टी (जसपा) को प्रवास विशेष समितिले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्बद्ध ‘एमसीसी अध्ययन तथा सुझाव कार्यदल’ले इस्ट इन्डिया कम्पनीसँग एमसीसीलाई तुलना गर्दै खारेज गर्ने सुझाव दिए लगत्तै जसपाका नेताको मुखमा बुझो परेको छ । झिनामसिना कुरामा समेत तुरुन्तै वक्तव्यवाजी, ट्वीटवाजी गर्ने जसपाका नेताहरुको यस्तो सुझाव प्रवास समितिबाट आउनासाथ सामूहिक मौनव्रत धारण गर्नुलाई राजनैतिक बजारमा अर्थपूर्ण रुपमा लिइएको छ । अरु त तपशीलका कुरामा समेत ट्वीट्वाजी गर्ने जसपाको चौथो वरियताका नेता डा. बाबुराम भट्टराईले पनि यस विषयमा ट्वीटवाजी गरेका छैनन् ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव र अशोक राईहरु पनि मौनता साँधी रहेका छन् ।

सोनेका अण्डा देने वाला मुर्गी 

कार्यदलले दावी गरे अनुसार एकमतले ल्याइएको यो सुझाव जसपाले कार्यान्वयन नगरे जसपालाई प्रवास समितिबाट ठूलै आर्थिक संकट निम्तिने निश्चित छ । पार्टीलाई ‘सोनेका अण्डा देने वाला मुर्गी’ नै पार्टीबाट पलायन हुने कार्यदलकै एक सदस्य विश्वासदीप तिगेलाले समयबद्धलाई बताएका छन् । यो पार्टीको प्रवास समितिमा अधिकांश आदिवासी जनजाति पृष्ठभूमि भएका नेपालीहरु छन । यसअघि पार्टीलाई आर्थिक सहयोग यसै समितिबाट हुँदै आएको थियो । पार्टी एकता नहुँदै समाजवादी पार्टी र समाजवादी फोरम हुँदै जसपाको प्रवास पार्टी समिति हुन पुगेको समितिको सुझावले जसपालाई देशभक्तइतर वा देशभक्तभितरको कित्तामा पु¥याउने भएको छ ।

उपनिवेश बनाउने योजना 

यतिमात्र होइन कार्यदलले एमसीसीलाई कार्यदलले इस्ट इण्डिया कम्पनीकै गुरुयोजना अन्तर्गतको निरन्तरतासँग जोडेका छन् । कार्यदलले उल्लेख गरेको छ, ‘यो फरक रुप धारण गरी भित्रिन खोजेको इस्ट इन्डिया कम्पनीजस्तै हो भन्दा फरक पर्दैन’ कार्यदलको प्रतिवेदनमा भनिएको छ, ‘एमसीसीमा उल्लेखित शर्तहरूभित्र लुट, अझ भित्र उपनिवेश र बाहिर आर्थिक सहयोगजस्तो देखिन्छ ।’ यस्तो संगीन आरोप लागेको एमसीसी परियोजनामा जसपाले आधिकारिक धारणा बाहिर ल्याउँदा मात्र पनि उसको संगठनमा प्रभाव पर्नेछ । एमसीसीको पक्षमा ल्याए प्रवास समिति गुम्ने, विपक्षमा ल्याए शक्ति राष्ट्रको तारो हुनेछ । हुनत कार्यदलले एमसीसीको सात सकारात्मक आठ वटा नकारात्मक पक्षको विश्लेषण गरिएको छ । तर, यी सुझावको आधारमा एमसीसी खारेज गर्नु नै पर्ने पेटबोलीको राय छ ।

राष्ट्रवादी मुखडा 

लिम्पियाधुरासहितको नक्सा प्रकाशन गर्न संविधान संशोधनको पक्षमा उभिएको जसपाले साँच्चिकै राष्ट्रिय चरित्र प्रदर्शन गरेको थियो । भारतीय विस्तारवादको हेपाहा प्रवृत्ति विरुद्ध जसपाले लिएको अडानलाई नेपाली जनमनले भारी प्रशंसा पनि गरे । जसपाका नेता राजेन्द्र महतोले संसदमा बोलेको अडान सामाजिक सञ्जालमा पनि भाइरल भयो । कोशी, गण्डकसहित महाकाली सन्धिसम्म आइपुग्दा गरेको राष्ट्रघातका मतियार राष्ट्रघातीलाइ टुँडीखेलमा झुण्डयाउनु पर्ने अभिव्यक्ति दिँदा वाहवाही पाए । तर, मुखैमा आएको एमसीसी परियोजनाको सन्दर्भमा उसको असली मुखडा पनि देखिने भएको छ । एमसीसीको पक्षमा जसपा गयो भने उसको राष्ट्रवादी मुखडा मात्र उत्रिने छैन । जसपा लिम्पियाधुराबाट छलाङ मार्दै वासिङ्टनको काखमा पुगेको अर्थ लाग्ने छ ।

एमसीसीको कित्ता 

एमसीसीको कित्ता वरिपरि नेपालको राजनीति घुमेको घुम्यै छ । नयाँ दिल्लीको काखबाट पेण्टागनको पेटीमा पुग्ने प्रतिष्पर्धामा पार्टीहरु लागेका छन् । स्वयम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र एमसीसीको पक्ष र विपक्षमा महाभारत नै चलिरहेको छ । केही समय अगाडि कृष्णबहादुर महरा प्रकरण पनि यसै मेसोमा आएको सर्वविदितै छ । नेकपाको झलनाथ खनाल कार्यदलले अधिकांश धाराहरु संशोधनसहित मात्र पारित गर्न सुझाव दिएको छ । यो सुझाव पनि एमसीसी खारेज उन्मुख नै छ । कार्यदलले दिएको सुझावसहित संशोधनको गुन्जाइस पनि छैन । यस्तो संशोधन अमेरिकालाई मान्य हुने छैन ।

कांग्रेसको विकल्प जसपा

यता नेपाली कांग्रेस एकमतले एमसीसीको पक्षमा हेलिएको छ । एमसीसीमा सती जाने एकमात्र पार्टी नेपाली कांग्रेस हो । ‘मरता क्या नही करता’ भनेझै नेपाली कांग्रेसले नेपाली धर्तीमा टेकेर राजनीति गर्नुको विकल्प एमसीसीमात्र देखेको उसको विचारले दर्शाउँछ । यस्तोमा जसपाले उसकै प्रवास समितिको सुझाव अनुसार एमसीसीइतर कित्ताकाट ग¥यो भने एउटा राष्ट्रिय चरित्रको वैकल्पिक पार्टी बन्न सक्छ । यसै पनि संघीयताको पक्षधर रहेको जसपा सांगठानिक रुपले राष्ट्रिय चरित्र ग्रहण गर्ने क्रममा छ । नेपाली समाजको प्रतिनिधित्व स्वरुप खस, मधेसी र आदिवासी जनजाति जसपामा केन्द्रित भएका छन् । एमसीसीको विपक्षमा जसपाले मत जाहेर ग¥यो भने कांग्रेसको विकल्पमा राष्ट्रिय पार्टी बन्न सक्छ । यसै पनि मधेसको आधरभूमिमा यसले आगामी दिनमा कांग्रेसलाई बढार्ने शक्ति यही हुनेछ । प्रवास समितिको सुझाव अनुसार गए पहाडमा पनि यसको जनमत बढ्न सक्छ । राष्ट्रवादको मुखडामात्र ओढेको हो भने ऊ पनि एमसीसीमा सती गएर भष्म हुनेछ । त्यतिखेर सांसद सरिता गिरीलाई गरेको कार्वाही, रोष्टममा उभिएर गरेको भाषण सार्वजनिक खपतका लागि गरिएको नौटंकी सावित हुनेछ ।

प्रवास समितिले राखेको नकारात्मक पक्ष

–एमसीसी सम्झौताका शर्तहरु सहयोगभन्दा शर्तका बुँदाहरुले भरिएका छन् ।

–यो परियोजना भारतलाई विद्युत् बिक्री गर्ने उद्देश्यले प्रेरित छ । किनकि, नेपालमा यस परियोजनाबाट उत्पादित विद्युत प्रयोग गर्ने कुनै एक्सेस छैन ।

–सम्झौताको धारा २ को दफा २.७ मा उल्लेख भएअनुसार नेपालको सङ्घीय संसदबाट पारित गरी परियोजनाको शर्तहरु उलङ्घन हुुन सक्ने नेपालको ऐन, कानुनहरु खारेज गर्नुपर्ने कुरा आश्चर्यजनक छ ।

– यस्तै, धारा २ को दफा २ को ८ को (क) मा उल्लेख भएअनुसार परियोजनालाई सबै प्रकारको कर छुट दिइने कुरा पनि निन्दनीय छ ।

–धारा ३ को दफा ३.२ को (च) मा उल्लेख भएअनुसार हाल थाहा भएको तथा सम्झौतापछि प्राप्त हुने सबै प्रकारको वौद्धिक सम्पतिमा अमेरिकाको एकलौटी अधिकार हुने कुराले परियोजना किन र कसका लागि प्रश्न उठ्छ ।

– धारा ३ को दफा ३ (८) को (क) मा उल्लेख भएअनुसार एमसीसीले नियुक्त गरेको लेखापरीक्षकले मात्र परियोजनाको लेखापरीक्षण गर्न सक्ने कुराले विश्वास भन्दा आशंका पैदा गर्ने देखिन्छ ।

–धारा ५ को (क) र (ख) उल्लेख भएअनुसार परियोजनालाई जुनसुकै बेला एकलौटी खारेज गर्न सक्ने कुराले थप आशङ्का र चिन्ता बढाएको देखिन्छ ।

–धारा ७ को दफा ७ को (क) मा उल्लेख भएअनुसार प्रस्तुत सम्झौता लागु भए पश्चात प्रस्तुत सम्झौता र उल्लेखित नेपालको राष्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ भन्ने पक्षहरुको बुझाइ छ भन्नुको तात्पर्यले नेपालको ऐन, कानुन, संविधानलाई समेत यसले चुनौती दिएको छ । राष्ट्रियता र स्वाधीनतामा सौदाबाजी गर्न सकिँदैन ।  समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस