Techie IT
×
गृहपृष्ठराजनीतिएमालेको भोलि हुने केन्द्रीय कमिटी बैठकमा माधव समूहका सबै नेताहरुलाई निम्तो

एमालेको भोलि हुने केन्द्रीय कमिटी बैठकमा माधव समूहका सबै नेताहरुलाई निम्तो


काठमाडौं, १७ असार । नेकपा (एमाले) को भोलिका लागि आह्वान गरेको केन्द्रीय कमिटीको बैठकमा आउन सबै नेताहरुलाई निम्तो पठाइएको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताहरुलाई समेत पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

‘पार्टीको तर्फबाट सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई इमेल र म्यासेज गरिसकेका छौँ। केहीलाई फोन पनि गर्दैछौँ’ उनले भने। एमालेको संस्थापन पक्षको बुधबार बसेको बैठकले दशौं केन्द्रीय महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो।

बुधबारको बैठकले पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा फर्काएको थियो। नेता नेपाल समूहको बटमलाइन अनुसार पार्टी जेठ २ मै फर्किएको भए पनि अझै असन्तुष्टि जनाउँदै आएका छन्।

बालुवाटार बैठकले माओवादीबाट आएका नेताहरुलाई समेत समावेश गरेर स्थायी कमिटी विस्तार गरेपछि असन्तुष्टि जनाएको हो। भोलिको बैठकमा जाने या नजाने भन्ने विषयमा नेता नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।

त्यसो त एमालेको दुवै पक्षका नेताहरु पार्टी एकतालाई जोगाइ राख्नुपर्नेमा जोड दिँदै निरन्तर संवादमा छन्। नेता नेपाल समूहले दोस्रो तहको बैठकमार्फत् भोलिको बैठक केही दिन पर सार्न आग्रह गरिरहेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #amale, #lkp madhav, #uml


तपाईको प्रतिक्रिया दिनुहोस