Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

कांग्रेसभित्र नयाँ रेकर्ड कायम गर्दै देउवा ! २०५७ सालदेखि सभापतिमा लगातार उमेद्वार


काठमाडौं । आगामी भदौभित्र १४ औं महाधिवेशन सम्पन्न गर्नैपर्ने वाध्यात्मक परिस्थिति उत्पन्न भएसँगै नेपाली कांग्रेसमा ठूलो रस्साकस्सी सुरु भएको छ । सभापति शेरबहादुर देउवा कुनै पनि हालतमा पुनः सभापति बनेरै छाड्ने अभियानमा छन् तर उनका विपक्षीहरु कुनै पनि हालतमा देउवालाई दोहो¥याएर सभापति बन्न नदिने बताइरहेका छन् ।

तर, अहिलेसम्मको अवस्था हेर्दा सभापति देउवा आफ्नो अभियानमा सफलताको नजिक छन् । आफ्ना विपक्षीहरुलाई छिन्नभिन्न गराउने देउवाको रणनीति सफलता उन्मुख छ । ‘मैले बाहेक देउवालाई अरुले हराउन सक्दैन’ भन्दै उमेद्वारी घोषणा गर्नेहरुको संख्या देउवाइतर पक्षमा आधा दर्जन भन्दा बढी छ । देउवा कांग्रेसभित्रको सबैभन्दा ठूलो र बलियो गुटका नेता हुन् । अरु गुटबाट जति धेरै जना प्रतिस्पर्धामा उत्रियो त्यति नै लाभ आफूलाई पुग्ने रणनीतिका साथ देउवा अघि बढेका छन् ।

उपसभापति बिमलेन्द्र निधिले सभापति पदमा उमेद्वारी घोषणा गरेपछि भने देउवालाई ठूलो धक्का लागेको छ । निधिले कुन आकारमा धक्का लगाउन सक्छन् भन्ने स्पष्ट भइसकेको छैन तर देउवालाई ५० प्रतिशत मत पुग्न नदिन भने निधिको उमेद्वारी काफी छ । सभापति निर्वाचित हुन ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । निधिको उमेद्वारीबाट हुने क्षतिलाई पूर्ति गर्नका लागि गत १३ औं महाधिबेशनमा जस्तै कृष्णप्रसाद सिटौला तथा गगन थापा समुहको साथ लिने रणनीति सभापति देउवाको छ । सिटौला र गगन थापाको लगाम भारतीय दुतावासमा भएका कारण सभापति देउवाले आफ्ना सहयोगी रमेश लेखकलाई छिटै दिल्ली पठाउने तयारी गरेका छन् ।

देउवाले गत १३ औं महाधिबशेनमा सिटौला समूहको साथ लिँदा पनि दोस्रो चरणमा झिनो मतअन्तरले चुनाव जितेका हुन् । त्यतिबेला पहिलो चरणमा साथ दिनेमध्ये सबैभन्दा ठूला हस्ती निधि बाहिरिसकेका छन् । त्यसैगरी महामन्त्रीको उमेद्वार बनेका अर्जुननरसिंह केसीको समूह पनि देउवाबाट अलग भइसकेको छ । करिव डेढ दुई सय मतको हैसियत राख्ने केवी गुरुङ र गोविन्दराज जोशीको साथ यस पटक देउवालाई नरहने करिव करिव निश्चित भइसकेको छ । विगतमा देउवाको टिमबाट केन्द्रीय सदस्यमा निर्वाचन भएकामध्ये चन्द्र भण्डारी, फरमुल्लाह मन्सुर लगायतका करिव आधा दर्जन बाहिरिएका छन् ।

यसैगरी विजयकुमार गच्छदार, सुनिल थापा, कुमार खड्का लगायतले नेतृत्व गरेका करिव आधा दर्जन पार्टीहरु नेपाली कांग्रेसमा समाहित भएका छन् । ती पार्टीहरुबाट कम्तिमा पनि ४–५ सय महाधिबेशन प्रतिनिधिहरु ल्याउने रणनीतिमा देउवा छन् । यी सबैको साथ सहयोग देउवालाई रहने अवस्था छ । यता इतर पक्षले साझा उमेद्वारका रुपमा निधिलाई अघि बढाउने कि भन्ने विषयमा छलफल अघि बढाएको छ । महामन्त्री डा. शशांक कोइरालाले यो छलफलको अगुवाई गरेका छन् । इतर पक्षको यो प्रयास सफल भयो भने देउवाले चुनाव जित्ने संभावना समाप्त हुन्छ । आफूले चुनाव जित्ने सुनिश्चित नभए देउवा पछि हट्नेछन ।

नयाँ कीर्तिमान

७५ वर्ष लामो इतिहास बोकेको नेपाली कांग्रेसले अहिलेसम्म १३ वटा महाधिवेशन सम्पन्न गरिसकेको छ । अहिलेसम्मका महाधिवेशनमा सभापति पदमा दुई पक्षबीच प्रतिस्पर्धा भएको छ । सभापति पदमा तीन जना भन्दा बढी उमेद्वार कुनै पनि महाधिबेशनमा खडा भएका छैनन् । तर, आसन्न १४ औं महाधिवेशनमा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । सभापति पदमा उमेद्वार हुनेहरुको संख्या करिव आधा दर्जन हुने संकेत देखिएको छ । परम्परागत गुट उपगुटहरु भत्किने संकेत देखिएको छ ।

अहिलेसम्म ११ जनाले सभापति पदमा उमेद्वार हुने घोषणाका साथ लविङ सुरु गरेका छन् । वहालवाला सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्व उपसभापति प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला, नेता कृष्णप्रसाद सिटौला, युवा नेता गगन थापा र कल्याण गुरुङले सभापति पदको उमेद्वारी घोषणा गरेका छन् ।

अहिले ११ जनाले सभापति पदमा उमेदवारी घोषणा गरे पनि अन्तिमसम्म मैदानमा उत्रनेहरुको संख्या आधा घट्ने सुनिश्चित छ । सभापति पदमा उमेद्वार बनेर पराजित हुने छुट सभापति देउवालाई छैन । त्यसैले जीत सुनिश्चित नहुने अवस्था आयो भने सभापति देउवा प्रतिस्पर्धाबाट बाहिरिने छन् । वरिष्ठ नेता पौडेलका लागि पनि निकटम प्रतिस्पर्धी भन्दा तल ओर्लने छुट छैन । कोइराला परिवार र प्रकाशमान सिंहले साथ नदिने परिस्थितिमा वरिष्ठ नेता पौडेल उमेद्वार बन्ने अवस्था रहन्न । वरिष्ठ नेता पौडेलको आफ्नै समूह छैन ।

पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई सभापति देउवाले निधिका विरुद्ध खडा हुन लगाएको आँकलन धेरैले गरेका छन् । उमेर र स्वास्थ्यका कारण पनि पूर्व उपसभापति श्रेष्ठ सम्मानित ठाउँ पाएमा उमेद्वारीबाट पछि हट्ने संभावना छ । कोइराला परिवारका दावेदार तीन जना छन् । तीनै जना प्रतिस्पर्धामा उत्रदैनन् । उत्रनै परे तीन जनामध्येबाट एक जनालाई अघि सार्ने छन् । एउटै समुहमा रहेका कृष्णप्रसाद सिटौला र गगन थापा दुवै जना सभापति पदमा भिड्ने संभावना छैन । कुनै ठूलो समुहमा पदाधिकारी सुनिश्चित भए सिटौला र थापा मैदानबाट बाहिरिने छन् । ठूला समुहले वास्ता गरेनन् भने १३ औं महाधिबेशनमा जस्तै संक्षिप्त प्यानल बनाएर मैदानमा उत्रने तयारी सिटौला समूहको छ । युवा नेता कल्याण गुरुङको पनि लगभग यही अवस्था हो । गुरुङले सहमहामन्त्रीका लागि ठूला समुहसँग बार्गेनिङ गर्न सभापति पदको उमेद्वारी घोषणा गरेको आँकलन धेरैको छ ।

मनोनयनको दिनसम्म दावेदारहरुको संख्या आधा दर्जनबाट घट्ने आँकलन गरिएको छ । देउवा, पौडेल, निधि, डा.शेखर कोइराला र प्रकाशमान अन्तिमसम्म टिक्ने अनुमान गरिएको छ । सभापति पदमा निर्वाचित हुन ५० प्रतिशत मत चाहिन्छ । बहुपक्षीय प्रतिस्पर्धा हुँदा ५० प्रतिशत मत कटाउने तागत कुनै पनि उमेद्वारको छैन । कुनै उमेद्वारले ५० प्रतिशत मत नकटाएमा अर्को चरणमा पहिलो हुने र दोस्रो हुने उमेद्वारबीच मात्रै प्रतिस्पर्धा हुन्छ । अहिलेसम्मको आँकलन हेर्दा सबै भन्दा धेरै मत देउवाले पाउने संभावना छ । तर, दोस्रो धेरै मत कसले पाउँछ ? आँकलन गर्न सकिने अवस्था छैन ।

ऐतिहासिक रेकर्डमा देउवा

यसैगरी आसन्न १४ औं महाधिबेशनको अर्को रोचक पक्ष हो सभापति देउवाको ऐतिहासिक रेकर्ड । देउवाले लगातार पाँच पटक उमेद्वार बनेर नेपाली कांग्रेसमा नयाँ रेकर्ड कायम गर्दैछन् । उनी सभापति पदमा उमेद्वार बन्न थालेको २०५७ सालदेखि हो ।

नेपाली कांग्रेसको अहिलेसम्मको इतिहास हेर्दा अपवाद बाहेक सभापति पदमा प्राय जसो दोहो¥याएर उमेद्वार भएको देखिन्न । गणेशमान सिंह एक पटक उमेद्वार बने । पराजीत भएपछि उनले फेरी कहिल्यै दावी गरेनन् । सुर्वणशमशेर राणा एक पटक मात्रै उमेद्वार बनेर दुई वर्ष पार्टीलाई नेतृत्व दिए । कृष्णप्रसाद भट्टराई सर्बसम्मत सभापति हुने शर्तमा एक पटक मात्रै उमेद्वार बने । वीपी कोइराला उमेद्वार नै बनेर प्रतिस्पर्धामा उत्रिएको दुई पटक मात्रै हो । सुशील कोइरालाको पनि एक पटक भन्दा बढी उमेद्वार बनेको रेकर्ड छैन । तर, गिरिजाप्रसाद कोइराला भने तीन पटक उमेद्वार बनेको रेकर्ड छ । नेपाली कांग्रसको इतिहासमा अहिलेसम्म धेरै पटक चुनाव हारेको रेकर्ड पनि देउवाले कायम राखिसकेका छन् ।

नेपाली कांग्रेसको विधानमा एउटै व्यक्ति कति पटकसम्म उमेद्वार बन्न पाउने ? भन्ने कुरा उल्लेख छैन । लगातार दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाउने प्रावधान भने विधानमै छ । नेपाली कांग्रेसको सभापति प्रधानमन्त्री नबनेको रेकर्ड पनि छैन । समयबद्धबाट

 


क्याटेगोरी : Breaking, राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट