Techie IT
×
गृहपृष्ठराजनीतिसरुवा–बढुवाको लागि मकहाँ कोही नआओस् : गृहमन्त्री पौडेल

सरुवा–बढुवाको लागि मकहाँ कोही नआओस् : गृहमन्त्री पौडेल


काठमाण्डौ, ११ असार । गृह मन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारीअनुसारको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । शुक्रवार गृह मन्त्रीका रूपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफूले मन्त्रीको रूपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेही भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताएका छन् ।

उनले आफूसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए । संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न उउनले निर्देशन दिए । मन्त्री पौडेलले नतिजामुखी काम आफूले खोजेको पनि बताए ।

उनले भने , ‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिनँ । हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यही हिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । यहाँहरूले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ । कुनै प्रहरी सङ्गठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन । गृह सचिवले हस्तक्षेप गर्दैन । संवैधानिक व्यवस्था, कानुनी प्रबन्ध र स्थापित प्रणालीहरू छन्, त्यसका आधारमा आ–आफ्ना जिम्मेवारी पूरा गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ । मलाई नतिजा चाहिन्छ । नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरूले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु ।’

मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एक जना प्रहरी पनि आफू कहाँ नआउनका लागि निर्देशन दिए । आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताए ।

उनले भन,, ‘म कहाँ एउटा पनि पुलिस नआओस् । अन्याय भयो भनेर साँच्ची नै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोशनका निम्ति, थमौतीका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस् । प्रहरी सङ्गठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरू स्वतन्त्र हुनुहुन्छ । मेरो जिम्मेवारी सहजीकरणको हो । हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेहीरजिम्मेवार छौँ, त्यस ढङ्गले गर्नेछौँ । त्यसबाहेकका सबै काम यहाँहरूले गर्नुपर्दछ ।’

उनले राजनीतिक परिस्थितिको प्रभाव गृह मन्त्रालयमा पर्न नहुने पनि बताए । अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरिकन आफ्नो काम गर्न पनि उनले निर्देशन दिए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस