Techie IT
×
गृहपृष्ठराजनीतिमोदीको आडमा चम्किएका ओली

मोदीको आडमा चम्किएका ओली


जनादेशको जगमा लोकतन्त्रको छाता ओढ्दै, राष्ट्रवादको नारा घन्काएर जन्मिएको केपी ओली नेतृत्वको प्रतिगामी सत्ताको आयु समाप्त हुने कानुनी घडी सामुन्नेमा छ । सर्वोच्च अदालतले यही असार ९ गतेदेखि गर्ने निरन्तरको अन्तिम सुनुवाइले प्रतिगमनकारी ओली सत्ताको न्यायिक विदाई गर्ने निश्चित प्रायः छ । अदालतको आदेश विपरीत दोस्रो पटक पनि संसद विघटन गरेर लोकतन्त्रको हुर्मत लिने र संसदको हत्या गर्ने ओलीको कृत्य वदर हुने निश्चित प्रायः छ । राजनीतिक रुपमा सत्तारुढ एमालेबाटै अस्वीकृत भइसकेको प्रतिगामी ओली सत्ता नैतिकता र लोकतान्त्रिक संस्कारका हिसावले त सत्ताच्युत भई नै सकेको हो ।

तैपनि निर्लज्ज भएपछि कसको के नै लाग्छ र भने झैं दक्षिण छिमेक भारतको संस्थापन पक्ष भारतीय जनता पार्टी र उसको मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघको बलियो आशिर्वाद मात्र होइन दिगो आडभरोसा पाएको नेपालको प्रतिगामी ओलीसत्तालाई सम्पूर्ण नेपाल र नेपालीले तिरस्कृत गरिसक्दा पनि भारतले पनि अझैं भरथेग नै गरिरहेको देखिन्छ । उसो त भारत वा हिन्दुस्थानका धेरै रुप छन, नेपालको सत्ता राजनीतिमा । तर, अहिलेको भाजपा र उसको सरकारका लागि भने अत्यन्त आज्ञाकारी नेपाली दलालका रुपमा प्रतिगामी ओली सत्ता नै खडा भएको छ । यसले नेपालीले तिरस्कार गरे पनि प्रतिगामी ओली सत्ता टिकाउन भारतीय संस्थापन पक्ष भाजपा र आरएसएसको चरम जालझेल र षडयन्त्र जारी रहेको पुष्टि गरेको छ ।

भारतले ओलीको मायाले होइन, आफ्नो स्वार्थपूर्तिका लागि खुफिया एजेन्सी रअका उच्च अधिकारी सामन्त गोयल मार्फत गत कार्तिकदेखि प्रत्यक्ष ओलीलाई गोटी बनाउन गरेको सुरुवातको अन्त्य कुन रुपमा हुने हो अझैं एकिन भएको छैन । भारतीय रुचि वेगर जारी नेपालको संविधानलाई फेल गराउने, जनताको वलिदानको उपज स्वरुप स्थापित संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र समाप्त पार्ने रअको तानावुना बमोजिम नै प्रतिगामी हर्कत गर्दै आएका ओलीलाई अहिले पनि टिकाउन सकेमा मात्रै भारतीय संस्थापन पक्षले आफ्नो स्वार्थको रोटी सेक्न पाउने भएका कारण भारतीय संस्थापन पक्ष ओलीको पक्षमा हात धोएर लागेको देखिन्छ । यसैले प्रतिनिधि सभा पुनस्र्थापनापछि पनि ओलीलाई टिकाउने गरी अहिले नेपालको सत्ता राजनीतिमा भारतीय चलखेल दृश्य रुपमा नै तीव्रतर रहेको घटनाक्रमहरुले देखाएका छन् ।

पहिले सिङ्गो नेकपा विभाजन, अहिले सत्तारुढ नेकपा एमालभित्रै कलह र विभाजन, मधेशवादी दल राजपामा महन्थ ठाकुर र राजेन्द्र महतो समूहको नाटकीय सत्तारोहण जस्ता नेपाली राजनीतिका दुःखान्त घटना भारतीय संस्थापन पक्षको रुचि अनुसार नेपालमा भइरहेका छन् । अहिले नेपालको विपक्षी गठबन्धनको संविधान र गणतन्त्रका पक्षमा देखिएको चट्टानी एकता र सहकार्यबाट ओली र भारतीय संस्थापन पक्ष जगैदेखि तर्सिएका छन् । त्यसैले भारतीय हस्क्षेपकारी षडयन्त्रका तानाबुनाहरु ज्यादै बढ्दै पनि गएका छन । यसले प्रतिगामी ओलीको सत्ता महत्वाकांक्षामा थप बल दिएको छ भने प्रतिगामी सत्ताको संरक्षकमा रुपान्तिरित भएर नेपालको गणतन्त्रको प्रतिक राष्ट्रपति संस्था पनि बदनाम हुँदै गएको छ । संविधान मिच्ने सरकारको संरक्षक राष्ट्रपति संस्था भइदिएका कारण तटस्थ तहका नागरिकमा समेत गणतन्त्रप्रति नै वितृष्णा बढाउने कुचेष्टा बढिरहेको छ ।

उसो त भारतकै वौद्धिक, कुटनीतिक तप्कादेखि भारतकै बढी हित चिताउने गैरशासक वर्गले भने ओली नेपालको सत्ता राजनीतिका सबैभन्दा बदनाम पात्र भएको यथार्थलाई बुझेर नै अब भारतले नेपालमा केपी ओलीको बुई चढेर कुनै स्वार्थ पूरा गर्न नसक्ने भन्दै मतहरु प्रकट गरिहेका छन । तथापि, सत्ताको उन्मादमा भाजपा र आरएसस वा रअले भारतीय मुलकै त्यस्ता वुद्धिजीवी र स्वतन्त्र मत र विचारहरुलाई नजरअन्दाज गरिहेकोले पनि भारतीय धाप पाई राख्न प्रतिगामी ओली सत्ता सफल हुँदै आएको छ ।

आफ्नो गुट बाहेक ओलीलाई कसैको समर्थन छैन भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग हुँदा पनि अझैं ओलीलाई काँध थाप्ने भारतीय संस्थापनको निरन्तरको षडयन्त्र विरुद्ध नेपाली नागरिक समाज, राजनीतिक शक्ति, वौद्धिक वर्ग, प्रेस, अधिकारवादी वा समग्र लोकतन्त्रवादी शक्तिले अझ बढी एकतासहित निर्णायक संघर्षको आँधीबेहरी सिर्जना गर्नुको विकल्प देखिदैंन । जनमतको ठीक उल्टो बाटो हिडेर भारतीय आशिर्वादकै बलमा टिक्ने प्रतिगामी ओली सत्ताको अन्तिम हर्कतहरु निभ्ने बेलाका बत्ती झैं भएरै होला अरु आक्रामक र ध्वंसकारी देखिदैं गएका छन् । अध्यादेशको बलमा शासन गर्ने ओलीतन्त्र अदालतको आदेशमा अध्यादेश सत्ता यात्रा फेल भएको छ । जनविश्वास पूरै गुमाइसकेको छ । तर, पनि फिस्टे धक्कु लगाउँदै भारतीय सेवक बन्ने प्रतिगामी ओलीतन्त्रको यात्रामा अन्तिम ब्रेक भने बाँकी नै छ ।

कोराना महामारीमा जनता सताइएका बेला भारतीय सेवक बन्नमा नै अर्जुनदृष्टि लगाउनमा मस्त, व्यस्त प्रतिगामी ओली सत्ताको आयु बढाउन अहिले नेपालको संविधानको धारा ७६ को उपधारा ५ लाई अपव्याख्या गर्ने र सांसदहरुको संसद बचाउन पाउने स्वविवेकीय अधिकारलाई कुण्ठित गर्ने गरी भारतीय चलखेल र घुसैठिया बहस सिर्जना गरिएको छ । खासमा संविधानले संसदलाई पूरा कार्यकाल बिताउने ग्यारेन्टीकै लागि धारा ७६ को उपधारा ५ को व्यवस्था गरेको हो । अहिले सर्वोच्च अदालतले संविधानको उक्त धाराको सही व्याख्या गरिदिनासाथ प्रतिगामी ओलीको जरोकिलो उखेलिने पक्का छ । त्यसैले एकाथरी कालोकोटधारी प्रतिगामी ओलीका मतियारहरु संविधानको संसद जोगाउने स्पष्ट व्यवस्थालाई पनि तोडमोड गर्न, गराउन असफल प्रयास भने गरिरहेका छन् ।

तर, अन्तिम अवस्थामा संविधान जोगाउने र जनमतको सम्मान गर्ने छवि देखाउँदै आएको नेपालको सर्वोच्च अदालतले अहिले पनि प्रतिगमनकारी ओली सत्ताको रक्षाकवच बन्ने संभावना लगभग शून्य नै छ । त्यसैले यसपालिको मनसुनी बाढीले धेरै जनधनको क्षति गरे जस्तै अब आउने राजनीतिक बाढीले प्रतिगमनको ओली हर्कतलाई अन्तमा नामोनिशान नै नरहने गरी बगाउने निश्चित छ । बाँकी त केवल केही दिनको प्रतिक्षा मात्र हो भन्दा अतिशयोक्ति हुने छैन । समयबद्ध साप्ताहिबाट


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस