मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका छन्।
प्रस्ताव पेश गर्दै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका छन् । अहिले गण्डकी प्रदेशमा विश्वासको मत सम्बन्धीको प्रस्ताव उपर छलफल भइरहेको छ ।
आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेले संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका हुन् ।
जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा अहिले ५९ सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ३० सांसदको मत आवश्यक पर्छ । यसअघि ३१ सांसदको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई सांसद पदबाट हटाएपछि प्रदेशसभामा अहिले ५९ सांसद छन् ।
आज उनले विश्वासको मत लिन नसके प्रदेश सभा विघटनतिर जानेछ। संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश सभा विघटन गरी ६ महीनाभित्र मध्यावधि चुनावका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्नसक्ने व्यवस्था रहेको छ।
क्याटेगोरी :
राजनीति