Techie IT
×
गृहपृष्ठराजनीतिउपेन्द्र समूह जसपाको आधिकारिकता दाबी गर्न आयोगमा उपस्थित हुने

उपेन्द्र समूह जसपाको आधिकारिकता दाबी गर्न आयोगमा उपस्थित हुने


काठमाण्डौ, ३ असार । जनता समाजवादी पार्टी (जसपां) का अध्यक्ष उपेन्द्र यादव समूह आधिकारिकता दाबी गर्न सशरीर निर्वाचन आयोगमा उपस्थित हुने भएको छ । बिहीवार बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न बहुमत सदस्यसहित सशरीर आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै फेरि निवेदन दिने निर्णय भएको उपेन्द्र यादव समूहका नेताहरूले बताएका छन् । यसअघि गएको जेठ १७ गते अर्का अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई गरिएको कारबाहीलाई आयोगले वैधानिकता नदिएपछि यो समूह सशरीर आयोगमा उपस्थित हुने भएको हो ।

यस्तै आजको बैठकले सरकारमा सहभागी भएका नौ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

साथै आज बसेको बैठकले मुख्यमन्त्री शङ्कर पोखरेललाई साथ दिँदै आएका लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ । उनीहरूलाई यसअघि पदमुक्त गरिए पनि सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #jasapa, #upendra yadav


तपाईको प्रतिक्रिया दिनुहोस