Techie IT
×
गृहपृष्ठराजनीतिगण्डकी प्रदेशमा एक घर, एक पीसीआर टेस्टको माग गर्दै संकल्प प्रस्ताव

गण्डकी प्रदेशमा एक घर, एक पीसीआर टेस्टको माग गर्दै संकल्प प्रस्ताव


पोखरा । गण्डकी प्रदेश सभामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन नेपाली कांग्रेसका सांसदले मंगलबारसंकल्प प्रस्ताव दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका सांसद्हरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले प्रदेशसभा नियमावलीको नियम ८५ को १ अनुसार संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

संकल्प प्रस्तावमा गण्डकी प्रदेशभरि एक घर, एक पीसीआर टेष्टको व्यवस्था हुने गरी तत्कालै प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख छ । साथै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारको क्वारेन्टिनको व्यवस्था तत्काल गर्नुपर्ने, स्वास्थ्यकर्मी, भेन्टिलेटरलगायतका आवश्यक स्वास्थ्य उपकरणयुक्त आईसीयू र आइसोलेसन कक्षको व्यवस्था गर्नुपर्ने माग समेटिएको छ ।

गण्डकी प्रदेशमा अहिले ३ वटा पीसीआर मेसिनबाट परीक्षण हुँदै आएको छ भने अहिलेसम्म १ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ७ सय ६१ जनाको नमूना संकलन गरिएकोमा १५ हजार ४ सय ६५ जनाको नतिजा नेगेटिभ आएको छ ।

त्यस्तै २ सय १७ जनाले कोरोनामुक्त भएका छन् भने संक्रमण देखिएका ४ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस