बालुवाटारमा प्रचण्ड–ओलीबीच छलफल

काठमाडौं, २३ असार । नेकपा अध्यक्ष प्रचण्ड पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । सत्तारुढ नेकपा भित्रको विवाद मिलाउन नेताहरु परामर्शमा व्यस्त भएका हुन् ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ । विवाद चर्किएपछि स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।
हाल स्थायी कमिटीको बैठक स्थगित गरेर नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् । सोमबार बस्ने भनिएको स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।
आन्तरिक शक्ति संघर्षले पार्टी बिभाजनको अवस्थामा पुगेको भन्दै दोस्रो तहका नेताहरुले सहमतिका लागि पहल गर्दै आएका छन् ।
यसैबीच नेकपामा चुलिदै गएको विवाद मिलाउन चिनियाँ राजदुत होउ यान्छी पनि सक्रिय बनेकी छिन् । दुई दिन अघि नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेकी राजदुत यान्छीले आज झलनाथ खनालसँग भेट गरेकी छिन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
प्रतिक्रिया