काठमाडौं, १९ असार । बिहीवार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को अधिवेशन अन्त्य गरेसँगै चर्चामा रहेका केही विधेयक र सम्झौता अलपत्र परेका छन्।
बैशाख २६ गते सुरु भएको बर्खे अधिवेशनमा विवादस्पद बनेका नागरिकतासम्बन्धी विधेयक, सङ्घीय निजामती सेवा विधेयक, सूचना प्रविधिसम्बन्धी विधेयक र अमेरिकी अनुदान एमसीसीसम्बन्धी सम्झौता पारित हुने ठानिएको थियो।
यीमध्ये लामो समयदेखि विचाराधीन रहेका र महत्त्वपूर्ण मानिएका नागरिकतासम्बन्धी विधेयक र निजामती कर्मचारी विधेयक अन्तिम चरणमा आएर अड्किएका छन्।
बर्खे अधिवेशनका क्रममा संविधान संशोधन विधेयक र सङ्घ, प्रदेश र स्थानीय तह अन्तर्सम्बन्ध विधेयकलगायत ११ वटा विधेयक पारित भएको र तीमध्ये नौ वटा प्रमाणीकरण भइसकेको प्रतिनिधि सभा विधि व्यवस्थापन महाशाखाका प्रमुख झलक सापकोटाले बताए।
नागरिकतासम्बन्धी विधेयक पारित नहुँदा लामो समयदेखि नागरिकता नपाएर समस्यामा रहेकाहरूलाई अप्ठ्यारो परिरहेको छ। सङ्घीय निजामती सेवा कर्मचारी विधेयक रोकिँदा प्रदेशले यससम्बन्धी कानुनहरू बनाउन सकेका छैन।
सत्तारूढ दल नेकपाभित्र नेताहरूबीच तीव्र मतभेद देखिएका बेला बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त सिफारिसलगत्तै राष्ट्रपतिले संसद्लाई बिहीवार ५ बजेबाट अधिवेशन अन्त्य गर्न पत्र पठाएकी थिइन्।
यी हुन् अलपत्र परेका महत्त्वपूर्ण विधेयकहरू :
१ नागरिकतासम्बन्धी विधेयक
२ सङ्घीय निजामती सेवा विधेयक
३ सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
४ एमसीसी
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking