काठमाण्डौ, १८ असार । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद बढ्दै जाँदा दुवै पक्ष आआफ्नै रणनीतिमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विभिन्न विकल्पको खोजीमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीलाई राजीनामा दिन बाध्य पार्ने रणनीतिमा जुटेको छ ।
पार्टी भित्रैबाट राजीनामा माग भएपछि ओलीले आफू निकटका नेताहरुसँग परामर्श गरिरहेका छन् । हिजो उनले बालुवाटारमा आफू निकट मन्त्री र नेताहरूसँग छलफल गगरेका थिए । दिउँसो पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मासहितका नेताहरूसँग पनि परामर्श गरेका थिए ।
स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले आफ्नो राजीनामा मागेपछि उनी दबाबमा परेका छन् । पार्टी भित्रबाट प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न दबाब दिए पनि उनी दुवै पद नछाड्ने अडानमा छन् ।
आफूमाथि दबाब बढ्दै जाँदा ओलीले विभिन्न विकल्पबारे तयारी गरेको नेकपाका नेताहरु बताउँछन् । संसद विघटन गर्ने, संकटकाल लगाउने वा दल विभाजन खुकुलो बनाउने अध्यादेश फेरि जारी गर्ने र संसदीय दलमा बहुमत पुर्याएर सरकार नछाड्ने विकल्प ओलीसँग छ ।
प्रधानमन्त्री ओलीले विभिन्न विकल्पबारे परामर्श गरिरहँदा प्रचण्ड–नेपाल समूहले ओलीमाथि दबाब बनाउने रणनीति लिएको छ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने दाहाल–नेपाल समूहको तयारी छ । यो समूहको हिजो ललितपुरमा भएको भोलाले विधानअनुसार पार्टी निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य बनाउने निष्कर्ष निकालेको छ । पार्टी विधानमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्ने प्रावधान छ ।
नेकपाको सचिवालय र स्थायी कमिटीसँगै केन्द्रीय समितिमा पनि ओली अल्पमतमा छन् ।
स्थायी कमिटीको हिजो र अस्तिको बैठकमा अधिकांश सदस्यले ओलीको राजीनामा मागेका थिए । स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पछिल्लोपटक प्रधानमन्त्री ओलीले भारतीय राज्य संयन्त्र र केही नेताहरू लागेको बताएपछि नेकपामा सत्ता संघर्ष चर्किएको छ ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking