Techie IT
×
गृहपृष्ठराजनीतिस्थायी कमिटी बैठकमा ओलीलाई प्रश्न : सरकार ढाल्न क–कसले सक्रियता बढाए, दूतावासका को–को सक्रिय भए ?

स्थायी कमिटी बैठकमा ओलीलाई प्रश्न : सरकार ढाल्न क–कसले सक्रियता बढाए, दूतावासका को–को सक्रिय भए ?


काठमाडौं, १६ असार । बालुवाटारमा जारी नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार ढाल्न खोजिएको विषयको अभिव्यक्तिबारे जानकारी दिन माग गरिएको छ । बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले सरकार ढाल्न खोजिएको बिषयमा जवाफ माग गरेका हुन्।

केपी ओलीले सरकार ढाल्न लागेको भनेर अभिव्यक्ति दिएपछि बैठकमा प्रमाणसहित स्पष्ट रुपमा राख्‍न नेताहरुले माग गरेका छन्। प्रधानमन्त्रीले असार १४ गते नेपाल भारत सिमा विवादको बिषयलाई लिएर सरकार ढाल्न रणनीति भइरहेको बताएका थिए।

सरकारलाई हटाउने नाममा काठमाडौंका होटल र दूतावासहरुले गतिविधि बढाएको प्रधानमन्त्रीले दाबी गरेका थिए। उनले आफ्नो चर्को आलोचनामा उत्रिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपालतर्फ लक्षित गर्दै यस्तो भनेका थिए। तर, बैठकको सुरुमा अध्यक्ष दाहालले त्यस विषयमा स्पष्ट धारणा राख्‍न माग गरेका छन्।

त्यसपछि बोलेका वरिष्ठ नेता झलनाथ खनालले पनि सोही आशयको भनाइ राखे। स्थायी कमिटी बैठकमा बोल्दै वरिष्ठ नेता खनालले सरकार ढाल्न भारत सक्रिय रहेको भनाइ गम्भीर रहेकोले यसबारे प्रष्ट पार्न माग गरे। उपाध्यक्ष वामदेव गौतमलेले पनि प्रधानमन्त्रीले सरकार नै ढाल्ने गरी कस–कसले सक्रियता बढाएको हो ? दूतावासका को–को सक्रिय भए बैठकमा बताउनुपर्ने बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस