प्रधानमन्त्रीको टेष्टेट राष्ट्रवादी कार्ड
केपी ओलीको पहिलो प्रधानमन्त्रीत्वकालका एक उपप्रधानमन्त्री रहेका पाका वाम नेता चित्रबहादुर केसीको दलको असार ११ को अनलाइन वैठकले निश्कर्ष निकालेको थियो कि भारत ओली सरकारलाई हटाएर नेपालमा राजतन्त्र फर्काउन प्रयासरत छ । जनमोर्चाको यो ठम्याइलाई प्रधानमन्त्री ओलीले असार १४ गते आफ्नै मुखारविन्दबाट पुष्टि गरे । प्रधानमन्त्री ओलीले आफूलाई हटाउने खेल सुरु भए पनि त्यो सम्भव नभएको बताउँदै नक्सा विवादले रुष्ट बनेको छिमेकी भारतको चर्को आलोचना गरे । जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरेका हुन ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा छापेपछि आफूविरुद्ध षड्यन्त्र भएको प्रधानमन्त्रीले दाबी गरेका छन् । उनले आजका लागि नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने जिकिर दोहो¥याए ।
प्रधानमन्त्रीको कथन थियो, ‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुल्ला दौडधुप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ । नक्सा छापेकोलाई अपराध भनेका छन् । मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’ प्रधानमन्त्रीले नक्सा छापे वापत कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सोचेको भए पनि नेपालको राष्ट्रियता कमजोर नभएको बताए ।
प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले हटिदिंदा आगामी दिनमा नेपालको पक्षमा बोल्दा अर्को प्रधानमन्त्री हट्नुपर्ने अवस्था आउने बताए । त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा र संसदीय दल पनि कसैको बहकावमा नकुद्ने बताए । उनले भने, ‘नेकपा पार्टी र संसदीय दल पनि बहकावमा कुद्दैन । यति बुझे हुन्छ, नक्सा भूलचुकले छापिएको होइन ।’
यसरी भारतविरोधी राष्ट्रवादी कार्ड ओलीको सत्ता लम्ब्याउने र कमजोरी छोप्ने अश्त्र बन्न सक्छ, सक्दैन यसै भन्न सकिन्न । किनकि ओलीको राष्ट्रवादी कार्ड टेष्टेड भइसकेको छ । अब भारतको विरोध मात्रै गरेर होइन, देशभित्र कोभिड १९ को कहरबाट जनतालाई बचाएर र सुशासन दिएर मात्रै कोही पनि शासक राष्ट्रवादी हुने परिस्थिति बनिसकेको छ ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking