भनिन्छ, कागले आफ्नो नाम आफै काढ्छ, अनि काग काग भन्दै कराउँछ । सत्तारुढ नेकपाभित्रका भारतभक्तहरुले पनि जारी स्थायी समिति वैठककै दौरानमा नै आफ्नो जात र धर्म आफैले प्रकट गरेका छन् । संसारभर छरिएर रहेका जुनसुकै साना ठूला सबै नेपाली नागरिकलाई नेपाल भारत सीमा समस्या सुल्झाउने सरल उपाय के हो भनी सोधियो भने सिधा उत्तर हुन्छ, सके पर्खाल लगाउने नभए पनि तारबार गर्ने, खुल्ला सीमा बन्द गर्ने ।
यस्तै प्रतिनिधि जनभावनाकै प्रतिनिधित्व गर्दै सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकको दोस्रो दिन शुक्रवार नेपाल भारतबीचका सीमा क्षेत्रमा काँडे तारबार लगाउनुपर्नेमा अधिकाँश नेताहरुले जोडदार माग रह्यो । लगभग सबै स्थायी कमिटी सदस्यहरूले काँडेतार लगाउने माग गर्दा पार्टी प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले भने सीमा नियमन मात्र गरे पुग्ने धारणा राखे । बहुसंख्यक नेताहरूले भारतसँगका सीमा सिल गरेर तारबार लगाउनुपर्ने माग राख्दा नेता नारायणकाजीले सामान्य नियमन गरे पुग्ने भनेपछि लाभको पदमा पुग्दा भारतपन्थी र सडकमा रहदा भारत विरोधी देखिने नारायणकाजीको चरित्र उदाङ्गो भएको राष्ट्रियताको अभियानमा जोडिएका साध्यबहादुर भण्डारीको कथन छ ।
वुधवार सुरु भएर बिहिबारको ग्यापपछि शुक्रवार पुनः सुरु भई जारी रहेको स्थायी समिति वैठकमा नारायणकाजीले भारतको मिचाहा प्रवृत्तिप्रति नरम रुख अपनाए ।
जनादेश विपरीत चोर बाटोबाट अनैतिकताको हद देखाउँदै राष्ट्रिय सभामा पुगेका उनले ताकेको परराष्ट्रमन्त्री पद प्राप्ति गर्न ठयाक्कै मिल्ने खालका द्विअर्थी तर्कहरुसहित उनी वैठकमा पेश भएका थिए ।
हाल परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अपेक्षाकृत सफल हुन नसकेको र उनको आलोचना बढ्दै गएको पृष्ठभूमिमा नारायणकाजीले ताकेको परराष्ट्र मन्त्री हुन अहिले भारतको चाकडी गरेर नै संभव छ भन्ने उनको अभिव्यक्तिबाट स्पष्ट भएको सहभागी एक नेताले झिल्कोलाई बताए ।
वाम विश्लेषक साध्यबहादुर भण्डारीका अनुसार नारायणकाजी अहिले पनि कालापानी र लिपुलेकको कुरा गर्छन, तर लिम्पियाधुराको कुरा उठाउदैनन । लिम्पियाधुराको कुरा उठाउँदा भारत थप बिच्किने उनको ठम्याइ हो, जब कि कालापानी र लिपुलेकमा भन्दा ठूलो राष्ट्रियता लिम्पियाधुरामा अतिक्रमित भएको जगजाहेर छ ।
यसरी स्थायी समिति वैठकमा पनि प्रवक्ता नारायणकाजीले सीमा सिलको सट्टा नियमन र नियन्त्रण गर्नुपर्ने बताएर आफ्नो भारतीय सेवाभावको नयाँ अवतार देखाएका छन् । ‘सीमा खुला राख्नुपर्छ भन्ने होइन तर आउजाउका लागि निश्चित बिन्दु तोकेर नियमन र नियन्त्रण गर्नुपर्छ । अन्यत्र तारबार गर्न सकिन्छ’ राष्ट्रवादी जस्तो पनि देखिने तर भारत पनि खुशी हुने गरी उनले राखेका यस्तै दोग्ला भाषा र प्रस्तुतिले उनको नक्कली भारत विरोधको पोल उजागर भएको विश्लेषक भण्डारी बताउँछन् ।
‘अहिले हामीले कसैलाई पनि उत्तेजित पार्ने काम नगरौं’ भन्दै उनले थपे, ‘वार्ताका लागि निरन्तर प्रयास गर्नुपर्छ, कूटनीतिक पहललाई जारी राख्नुपर्छ ।’ बाहिर बाहिर भारत विरोध, भित्र भित्र उत्तेजित नबनाऔं भन्दै भारतभक्ति देखाउने उनको शैलीले उनकै द्वैध चरित्रलाई नङ्ग्याएको भण्डारी बताउँछन् ।
अझ रोचक कुरा त शुक्रवारको वैठकमा उपस्थित नरहेका प्रधानमन्त्री तथा एक अध्यक्ष केपी ओलीलाई भेट्न शुक्रवार साँझ नै उनै नारायणकाजी वालुवाटार पुगेका थिए । दिनभर वैठकमा क्रान्तिकारी कुरा गर्ने, आफ्ना घरमा वा नेतृत्वमा पटक पटक गुटका भेला र वैठक राख्ने अनि साँझमा फेरि प्रधानमन्त्रीकै चाकडीमा जाने उनको दाहोरो शैली मन्त्री हुने खेलकै लागि हो भन्ने स्पष्ट देखिने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
राष्ट्रिय सभा सदस्यको तलव कोभिड १९ कोषमा दिने घोषणा गरेर चर्चामा आएका उनले त्यस यता आफ्नो जीवन दैनिकी कसरी चलेको छ ? आम्दानीको स्रोत के हो ? महङ्गो गाडी र दैनिक फेरिने सुकिलो पोशाक र आलिशान जीवन शैलीको यथार्थ के हो भनेर न पार्टी, न त जनता कसैलाई खुलस्त पारेका छैनन् । पारदर्शिताका चर्का कुरा गर्ने उनै नारायणकाजीका अपारदर्शी जीवन शैलीबारे जनता जान्न चाहन्छन । तर के उत्तर दिन तयार छन् त नेता नारायणकाजी ?
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking