Techie IT
×
गृहपृष्ठराजनीतिनेकपा स्थायी कमिटी बैठक : सीमा अतिक्रमणसम्बन्धी कार्यसूचीमा केन्द्रित

नेकपा स्थायी कमिटी बैठक : सीमा अतिक्रमणसम्बन्धी कार्यसूचीमा केन्द्रित


काठमाडौँ, १२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको आजको बैठक नेपालको सीमा अतिक्रमणसम्बन्धी कार्यसूचीमा केन्द्रित रहेको बताइएको छ ।

बैठकमा नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो विषयसँग सम्बन्धित घटनाक्रमको जानकारी गराएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।

उनले बैठकमा मन्त्री ज्ञवालीले भारतले अतिक्रमण गरेका कालापानी क्षेत्रको नेपाली भूभाग फिर्ता गर्न भारतसँग कूटनीतिक माध्यमबाट प्रयास गरे पनि भारतले अझैसम्म पनि सकारात्मक तत्परता नदेखाएको जानकारी दिए ।

साथै केही सञ्चारमाध्यममा चीनबाट पनि नेपाली भूमि अतिक्रमण भएको भन्ने समाचार आएकोमा त्यसमा सत्यता नभएको भन्दै चीनले नेपालको कुनै सीमा अतिक्रमण नगरेको जानकारी गराएको प्रवक्ता श्रेष्ठले पत्रकारहरूलाई जानकारी दिए । साथै इपीजीको प्रतिवेदन बुझ्न पनि भारतबाट आनाकानी भइरहेको बारे परराष्ट्रमन्त्रीले बैठकमा जानकारी गराएका थिए ।

आजको बैठकमा बोल्ने अधिकांश सदस्यले देशको अतिक्रमित भूमि फिर्ता गर्न र नेपालको कालापानी क्षेत्र समेटेको नक्सा प्रकाशन तथा त्यसलाई संवैधानिक मान्यता दिने क्रममा देखिएको राष्ट्रिय एकताको प्रशंसा गर्दै देशका सुस्तालगायत अन्य अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा पनि यस्तै एकता आवश्यक रहेको कुरामा जोड दिएको उनले बताए ।

त्यस्तै, पत्रकारहरूले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको विषयमा राखेको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले आफू कार्यव्यस्तताका कारण बैठकमा आउन नभ्याए पनि बैठक सञ्चालन गर्न भन्नुभएको महासचिव विष्णु पौडेलले जानकारी गराएको बताए ।
आज १८ जना सदस्यले आफ्ना विचार राखेको र बैठक भोलि पनि जारी रहने उनले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस