Techie IT
×
गृहपृष्ठराजनीतिओलीले लोकतान्त्रिक गणतन्त्र र संघीयता धरापमा पार्ने काम गरे : जनार्दन शर्मा

ओलीले लोकतान्त्रिक गणतन्त्र र संघीयता धरापमा पार्ने काम गरे : जनार्दन शर्मा


नवीन रिजाल

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र पद्धति मिचेर लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई धरापमा पारेको बताएका छन् । ओलीकै कारण मुलुक सङ्कटमा फस्ने खतरा देखिएको शर्माको भनाइ थियो ।

दैलेखको दुल्लुमा शनिवार आयोजित विरोध सभालाई सम्बोधन गर्दै शर्माले भने, ‘पार्टी एकता गर्दा संविधान कार्यान्वयनलाई मुख्य विषय बनाइएको थियो, अहिले प्रधानमन्त्री के.पी. शर्मा ओलीले उल्टो तरिका प्रयोग गरे, जुन संविधान विपरीत छ, यो प्रतिगमन हो ।

जनवादी केन्द्रीयता र विधि पद्धति नमान्ने, नारा भने ठूलठूला दिने प्रधानमन्त्रीले जनताका आधारभूत समस्यालाई ध्यान नदिएको शर्माको आरोप छ ।

नेकपा फुटेको छैन, ओलीले अन्तर्घात गरेका हुन्, अहिले भ्रष्टाचार बढेको छ, संसद् विघटन मात्र भएको छैन, सिङ्गो देशका जनताको अधिकार नै विघटन भएको शर्माले बताएका छन् ।

प्रतिगमनका विरुद्ध देश एकजुट छ : योगेश भट्टराई

नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रतिगमनका विरुद्धमा देश एकजुट भएर विरोध उत्रेको बताएका छन् । १४ वर्ष जेल बसेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको अगुवाइ गर्लान् भनेर आफूहरूले नसोचेको बताउँदै घरभित्र समस्या छ भनेर बस्तीमै आगो लगाउनु कदापी राम्रो होइन । घर त खरानी भयो नै देशमा पनि आगो लागेको छ । जनताले बुझिसकेका छन्, भट्टराईको जोड थियो ।

जनताको सात दशक लामो त्याग तपस्या र सहिदको रगतबाट लेखिएको संविधानको रक्षाका लागि हामी आन्दोलनमा छौँ भन्दै भट्टराईले अगाडि भने, ‘प्रधानमन्त्रीको कदम गलत भएको भन्दै अहिले सयौँ कानुन व्यवसायीहरू विरोधमा छन् । न्यायालयले जनताको पक्षमा फैसला गर्नेछ ।’

यसैगरी प्रधानमन्त्रीले देश र जनताको पक्षमा नभै व्यक्तिगत कुण्ठा बोकेर हुकुमी शैली अपनाउनु कदापी राम्रो काम नभएको केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका अर्थ मन्त्री प्रकाश ज्वालाले बताएका छन् । राजा महाराज त जनताले फालेका हुन, इतिहास हेरे हुन्छ, यस्तै हर्कत भए जनताले भोलि सत्ताबाट फाल्ने ज्वालाको भनाइ छ । सभामा विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजाल लगायतका नेताहरूले पनि बोलेका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस