Techie IT
×
गृहपृष्ठराजनीतिपार्टी एकता जोगाउन वामदेव गौतमको अपिल

पार्टी एकता जोगाउन वामदेव गौतमको अपिल


काठमाडौं । नेकपा विभाजन तटस्थ बस्दै आएका पार्टीका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन अपिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा० एकता राष्ट्रिय अभियान को नाममा वक्तव्य जारी गर्दै नेता गौतमले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको बताएका छन् ।

उपाध्यक्ष गौतमले “नेपालको मात्र होइन एशियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तरगत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुइतिहाई नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैमा गौरवमय उपलब्धि थियो । यो उपलब्धि माक्र्सवाद लेनिनवादको मार्गदर्शनमा विकसित जनताको बहुदलीय जनवादको अभ्यासका क्रममा प्राप्त भएको हो भन्दा अतिशयोक्ती हुने छैन । तर सरकार संचालनको एउटा कार्यकाल पुरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि ब्यतित नहुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुखद र पिडादायी भएको” बक्तव्यमा उल्लेख गरेका छन् । “नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रुपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार संचालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शिर्षस्थ नेताहरुको अयोग्यताको द्योतक” भएको आज सार्वजनिक गरेको अपिलमा बताएका छन् ।

प्रचण्ड–माधव नेपालले तयार गरेको १९ पृष्ठको राजनीतिक प्रस्तावको समर्थन समेत गरेका गौतमले वक्तव्य भनेका छन् “हामी सबैलाई थाहा हुनुपर्छ, चार दशकदेखि शान्तिपूर्ण संघर्षका विभिन्न रुपहरु प्रयोग गर्दै राष्ट्रिय राजनीतिक केन्द्रको अग्रभागमा उपस्थित एउटा शक्ति र दश बर्ष सम्म सशस्त्र संघर्ष संचालनको पृष्ठभूमिबाट विकसित भएको अर्काे शक्तिका बीच भएको एकिकरणले नेपालको राजनीतिक जगतमा नयाँ आयाम थपेको थियो ।

राष्ट्रिय राजनीतिमा महत्वपुर्ण हैसियत राख्ने दुई कम्युनिष्ट पार्टीको एकीकरण भए तापनि दुवैमा रहेको फरक फरक विचार, भावना र कार्यशैलीका कारण नेता र कार्यकर्ताहरुको बीचमा अन्तरघुलन हुन केही समय समस्या देखिनु स्वभाविक हो । तर तात्कालिक नीतिगत क्षेत्रमा संविधानको सर्वाेच्चता, कानुनी राज्य, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई दुबैले सहर्ष स्वीकार गरी सकेपछि मतभिन्नता त्यति जटिल हुने देखिदैन । सिद्धान्त र कार्यक्रमका सन्दर्भमा केही असमझदारी रहेका थिए, तिनलाई महाधिवेशनबाट टुंगो लगाउने भनि सहमति भएकै थियो । तबसम्म सबै कामहरु अपेक्षाकृत सहमतिका आधारमा सम्पन्न गर्ने सहमति पनि भएकै थियो ।

पार्टी एकीकरणका नीम्ति गरिएको पछिल्लो सहमति अनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकै थियो । अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै थियो । यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले वेहोर्न पर्ने अवस्था सृजना भएको छ । पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्ने सम्मका घटना घटनु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी” भएको बताएका छन् ।

उनले पार्टीभित्र उत्पन्न उपरोक्त समस्या समाधान गर्नुको बदला एकीकरण पछिको यो एक वर्ष नेतृत्वको धु्रवीकरणमा बितेको भन्दै पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापेमार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले वेर्हाेन परेको बताएका छन् ।

नेता गौतमले सार्वजनिक गरेको अपिलमा “यतिवेला कार्यकर्ताहरुलाई तानातान गर्दै क.के.पी. शर्मा ओलीको नेतृत्वमा एउटा समूह र क.पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्काे समूह देखापरेका छन् । प्रतिनिधिसभा विघटनका विरुद्ध प्रचण्ड समूहका कतिपय व्यक्ति पुनस्थापनाको माग गर्दै सर्वाेच्च अदालत पुगेका छन् । साथै नीजि क्षेत्रका दर्जनभन्दा बढी कानुनविदहरु पनि विघटनका विरुद्ध रिट निवेदनसहित सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेकपाको प्रचण्ड समूह भने सडक आन्दोलनमा गएको छ । दुबै समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आफ्नो हक दावी गर्दै निर्वाचन चिन्ह्मा समेत आफ्नो दावी गरिरहेका बताएका छन् ।

उपरोक्त सम्पूर्ण अवस्थालाई सुक्ष्मतम विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुनर्किकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक हार्दिक अपिल गर्दै तपाईहरुका अगाडि खडा भएको छु । यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनर्एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्र्ने नेपाली जनताले कहिल्यै माफि दिने छैनन् ।

उपरोक्त दुबै समूहमा सामेल हुनुभएका कमरेडहरु !
एक अर्कालाई दोष दिदैं, सामान्य मान मर्यादा उल्लघंन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीहरुलाई हसाउँदै शुरु गर्नुभएको लडाई बन्द गनुहोस र फर्कनुहोस, पुनर्मिलन गर्नुहोस र हजारौं शहिदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित संचालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गरौं” भन्दै आव्हान गरेका छन् ।

नेता गौतमले देश र विदेशमा रहेका पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेकपा एकता राष्ट्रिय अभियानमा संगठीत रुपमा जुट्न निर्देशन दिएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस