Techie IT
  • १७ कात्तिक २०८१, शनिबार
Jhilko

प्रदेश २ मा पनि नेकपाको संसदीय दल नेतामाथि अविश्वासको प्रस्ताव, सत्रुधन महतोलाई दलको नेता बनाउने तयारी


१७ पुस, जनकपुर । नेकपाको केन्द्रमा भएको राजनीतिक विभाजनकोको असर केही दिनदेखि प्रदेशहरुमा देखिदै गएको छ । सरकारको भूमिकामा नरहेको प्रदेश २ मा पनि नेकपाको विवाद देखिएको हो । प्रदेश २ का नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलमाथि आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेता मण्डल नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता हुन् ।

नेपाल कम्युनिस्ट पार्टी प्रदेश २ को संसदीय दल नेता सत्यनारायण मण्डललाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षले कार्वाहीको तयारी गरेको छ ।

संसदीय दलका नेता मण्डल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेको सो समुहले मण्डललाई दलको नेताबाट हटाएर प्रदेश सासंद सत्रुधन महतोलाई दलको नेता बनाउने तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमको समर्थन गरेको, संसदीय दलको नेताको रुपमा भागबण्डामा मात्र लिप्त भएको र प्रभावकारी भुमिका नखेलेको भन्दै सो समुहले दलका नेता मण्डललाई कार्वाही गर्ने तयारी गरेको जनाएको छ ।

प्रदेशसभा सदस्य महतो संसदीय दलको नेताका लागि मण्डलसँगै उम्मेदवारी दिएका थिए । त्यतिखेर मण्डलसँग महतो पराजित भएका थिए ।

दलका नेता मण्डल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराई सकेको र आईतवार बस्ने संसदीय दलको बहुमत सांसदहरुको बैठकले मण्डललाई दलको नेताबाट हटाइने नेकपाका संसदीय दलका उपनेता रामकुमार यादवले जानकारी दिए ।

मण्डल दलको नेताबाट हटाउने पक्षमा १९ जना प्रदेशसभा सदस्यहरुले हस्ताक्षर गरेको र पुर्वमाओवादी पक्षका प्रदेशसभा सदस्य दिलिप कुमार साह, पुर्वएमालेका प्रदेशसभा सदस्यहरु लगनलाल चौधरी र अनिता यादव खुल्न नसकेको उपनेता यादवले बताए ।

प्रदेशसभामा पुर्वमाओवादीका ११ र पुर्वएमालेका २१ गरी नेकपाका ३२ प्रदेशसभा सदस्य छन् । जसमध्ये पुर्वमाओवादीका रामचन्द्र मण्डल, कुन्दनकुमार कुशवाहा, मो. समिर र ज्वालाकुमारी साह ओली समुहमा लागेका छन् भने प्रमिला कुमारी यादव, फुलियादेवी सदा, भरत प्रसाद साह, रामकुमार यादव, जगतप्रसाद यादव र रुवीकुमारी कर्ण गरी ६ जना प्रदेशसभा सदस्यहरु प्रचण्ड–नेपाल समुहमा छन् ।

पुर्वएमालेका गोबिन्द न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक कुमार यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, सत्रुधन महतो, बेची लंगेली, रबिन्द्र बैठा, हसिना खातुन, नागेन्द्र यादव, सुन्दर बिश्वकर्मा, सिता गुरुङ्ग गरी १३ जना प्रदेशसभा सदस्यहरु प्रचण्ड–नेपाल समुहमा रहेको उपनेता यादवको भनाई छ ।

यसैगरी नेकपा अध्यक्ष प्रचण्ड–नेपाल समुहले पुस १८ गतेदेखि प्रदेश २ को जिल्ला तथा स्थानीय स्तरमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

उक्त समुहको प्रदेश समिति सदस्यहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटन गर्ने निर्णय बिरुद्ध संघर्ष गर्न एक हजार एक सदस्यीय संघर्ष समिति गठन गरेको नेकपा प्रदेश सह–इञ्चार्ज विश्वनाथ साहले बताउनुभयो । संघर्ष समितिले प्रदेश २ को ८ वटै जिल्ला तथा स्थानीय तह र वडाहरुमा पुस १८ गतेदेखि २४ गतेसम्म आन्दोलन गर्ने निर्णय गरेको सह–इञ्चार्ज साहले बताए ।


क्याटेगोरी : Breaking, समाचार, मधेस प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट