Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि शुरु हुँदै


काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो २ बजे बस्दैछ । आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ ।

यही अधिवेशनमा आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अघिल्ला वर्षहरुमा बजेट अधिवेशनकै बेलामा प्रि–बजेट छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तबारे हिउँदे अधिवेशनमै छलफल भइसकेको छ ।

सङ्घीय संसद सचिवालयले बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने तयारी गरेको छ । सभामुख घिमिरेले हिजो प्रतिनिधिसभामा रहेका मुख्य पाँच दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएर अधिवेशनको पहिलो दिन शीर्ष नेताहरुले शुभकामना दिने अभ्यास रहेको भन्दै यसका लागि सहज वातावरण बनाइदिन आग्रह गर्नुभएको छ । तर सहकारीको रकम हिनामिनाबारे गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी कांग्रेसको अडान कायमै रहेकाले बैठक निष्कर्षविहीन भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री  लामिछानेलाई संसदमा बोल्न दिने वा नदिने विषयमा आज बिहान धारणा बनाउने जानकारी दिनुभएको छ । कांग्रेसको संसदीय दलको बैठक अहिले बिहान बस्दैछ ।

कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट