गृहपृष्ठ ∕
राजनीति ∕
शिक्षामन्त्री र अर्थमन्त्रीले आत्माआलोचनासहित माफी माग्नुपर्छ : नवीना लामा
शिक्षामन्त्री र अर्थमन्त्रीले आत्माआलोचनासहित माफी माग्नुपर्छ : नवीना लामा
काठमाडौं, २५ जेठ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नवीना लामाले पार्टीको नीतिविपरीत बजेट ल्याएकाले अर्थमन्त्री डा. युवराज खतिवडाले माफी माग्नुपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्रालयगत विनियोजित बजेट माथिको छलफलमा सहभागी हुँदै सांसद लामाले अर्थमन्त्री खतिवडा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कडा शब्दमा आलोचना गरिन्।
सांसद लामाले नेपालको संविधान र पार्टीको चुनावी घोषणा पत्र दुवै कोणमा बजेट च्युत भएको भन्दै शिक्षामन्त्री पोखरेल र अर्थमन्त्री खतिवडाले सदनमा आत्माआलोचनासहित माफी माग्नुपर्ने बताइन्। ‘नेपालको संविधानले समाजवाद स्थापना गर्ने भनिरहँदा चुनावी घोषणापत्र स्मरण गरिराख्दा यो बजेट दुवै कोणबाट च्युत भएको देखिन्छ’, उनले भनिन् ‘संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य भनेको छ। निजी क्षेत्रबाट संचालित शैक्षिक संस्थालाई नियमन गर्ने एवम् सेवामुखी बनाउने भनिरहेका बेला शिक्षाबारे बजेटले लिएको नीति गलत छ।’
सांसद लामाले मन्त्री खतिवडालाई लक्षित गर्दै कडा टिप्पणी गरिन्। ‘अर्थमन्त्री चुनावमा लड्नु नपर्ने भनेर होला सरकार र पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गर्नु हुँदैनथ्यो’, उनले भनिन्, ‘अर्थमन्त्रीज्यू, यस्तो काम कहिले पनि गर्नु हुँदैन।’
संविधान र पार्टीको चुनावी घोषणा पत्रमा समाजवाद राज्य व्यवस्था निर्माण गर्ने कुरा उल्लेख भएको भन्दै उनले ‘नेकपाको समाजवादको शिक्षानीति यही हो”? भनी प्रश्न गरिन्। नेपालको संविधानको धारा ३१ ले सबै नागरिकले निशुल्क शिक्षा पाउने हक सुनिश्चित गरेको स्मरण गराउँदै लामाले बजेट पुस्तिकाको १६६ बुँदामा उल्लेखित विषय नेकपाको शिक्षानीति विपरित भएको टिप्पणी गरिन्। यो नीति मुला रोपेर आलु फलाउने भनेर दिएको गफजस्तो भएको भन्दै लामाले कटाक्ष गरिन्।
अर्थमन्त्रीले सरकार र नेकपाको विचारधारालाई समेत संकटमा पार्ने काम गरेको आरोप लामाले लगाएकी छन्। शिक्षामन्त्री पोखरेलको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण आएको भन्दै त्यसबारे सदनलाई स्पष्ट पार्न पनि माग लामाले माग गरेकी छन्। बजेटको १६६ धारामा सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नति गर्ने जिम्मेवारी निजी विद्यालयलाई दिने उल्लेख गरिएपछि तीव्र आलोचना भइरहेको छ। त्यो योजना आफूले प्रस्ताव नगरेको शिक्षामन्त्री पोखरेलले बताएका छन्। तर अर्थमन्त्री खतिवडाले भने निजी क्षेत्रलाई संस्थागत सामाजिक उत्तरदायित्व वहन गराउन यस्तो उल्लेख गरिएको भन्दै बचाउ गरिहेका छन्।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking