यस्तो रहेछ १६ जना चिकित्सकलाई मुगुमै छाडेर उड्नुको कारण

काठमाडौं । माओवादी केन्द्रका नेता मातृका यादव, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सोमबार भीआईपी टिकट काटिएको थियो । समिट एयरको उक्त जहाजमा चिकित्सकले मंगलबारका लागि १६ सिट पनि बुक गरेतापनि टिकट भने काटिएको थिएन ।
समिट एयरको जहाले मंगलबार ५ जना भीआईपी यात्रु र १३ जना चिकित्सकलाई पहिलो उडानबाट नेपालगञ्ज ल्याउन खोजेको थियो । चिकित्सकले १६ जनाकै समूह एउटै उडानमा जानु पर्ने अडान राखेर किचलो झिकेपछि अन्य यात्रुलाई लिएर समिटको जहाज उडेको थियो ।मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउने जहाजका चिकित्सक यात्रु र जहाज कम्पनीबीचको विवादका कारण १६ जना यात्रुले एक साथ यात्रा रद्द गरेका हुन् ।
‘उहाँहरु हाम्रै उडानबाट मुगु जानु भएको हो, आजका लागि टिकट बुकिङ मात्र गर्नु भएको थियो, टिकट काट्नु भएको थिएन, त्यसकारण ५ वटा भीआईपी टिकट सोमबार नै काटिएको थियो,’ कार्कीले भने, पहिलो उडानमा ५ जना छुटे पनि हामी आजै अर्को उडानबाट थप यात्रुलाई नेपालगञ्ज ल्याउने योजनामा थियौं ।’ चिकित्सकको अर्घेल्याइँले नै उनीहरु मुगुमा बसेको समिट एयरका प्रमुख कार्यकारी अधिकृत मनोज कार्कीले बताए ।
यसबारेमा उक्त जहाजमा चढेका माओवादी केन्द्रका नेता मातृका यादव यसो भन्छन् :
‘हामी हिजै मुगुबाट सुर्खेत आउनुपर्ने थियो । टिकट हिजैकै हो हाम्रो । तर, जहाज बिग्रिएर हिजो गएन । हाम्रो पार्टीको नेता कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समिट एयरका साहुजीलाई बिहानै जहाज पठाइदिन आग्रह गर्नुभयो । हिजै रोकिएका हामीलाई लिन जहाज गएको हो । हामी पाँच जना थियौं । १६ सिटको जहाजमा हामी मात्र आउने कुरा भएन । काठमाण्डुबाट गएका डाक्टरहरुको टोली जुम्लामा एउटा कार्यक्रममा सहभागी भएर रारा घुम्न गएको रहेछ । राराबाट फर्किएर उहाँहरु पनि नेपालगञ्ज हुँदै काठमाण्डु फर्कन ताल्चा विमानस्थ पुग्नुभएको जानकारी हामीले पायौं ।
उहाँहरुको टिम १६ जनाको रहेछ । हामी हाम्रो लागि आएको जहाजमा उहाँहरुमध्ये ११ जनालाई ल्याउन तयार भयौं । तर, उहाँहरुले एउटै टिम भएकाले आफूहरु छुट्न नमिल्ने र सँगै जानुपर्छ अडान लिनुभयो । हामीले हिजै जानुपर्ने थियो, जहाज बिग्रिएर आज हामीलाई लिन आएको भन्यौं । तर, डाक्टरहरु आक्रोशित हुनुभयो । पेशागत मर्यादाको समेत ख्याल नगरेर उहाँहरुले जहाजको पार्किङस्कथलसम्मै आएर हुलहुज्जत गर्नुभयो । नेताहरु रहेछन् एकछिन लफडा गर्न पाए डराएर पछि हट्छन् भन्ने मनोविज्ञान उहाँहरुको देखियो । हामीलाई पनि जानैपर्ने जरुरी थियो । डराएर त भएन । हाम्रो तर्फबाट कुनै जबर्जस्ती भएको होइन । बरु हामीले मेरो र शाहीजीको सुरक्षामा कटिएका पिएसओहरुलाई गाडीबाट आउन भनेर पनि डाक्टरहरुलाई ल्याउन खोजेका थियौं ।
समाचारहरुमा उहाँहरुले भए नभएको दाबी र आरोप लगाउनुभएको रहेछ । अपरेशन गर्नुपर्ने बिरामी पनि आउन पाएनन् भनेर । उहाँहरु १६ जना हुनुहुन्थ्यो । हामीले ११ जनाका लागि सिट छ जाऔं भनेकै हौं । १६ जनाकै अपरेशन त थिएन होला ? किन उहाँहरुले १६ को १६ नै जानुपर्ने, कोही पनि छुट्न नमिल्ने अडान लिनुभयो ? अपरेशन गर्नुपर्ने बिरामी छाडेको भन्नेले किन हामीसँग नपठाएको छ ? एक जना सुत्केरी ब्यथाले सिकिस्त महिलालाई ल्याउदै गरेको सूचना आयो ।
हामीले पाइलटलाई विशेष आग्रह गरेर ती महिलालाई आधा घण्टासम्म कुरेर ल्यायौं । हामीलाई पनि मानवीय पक्षको ज्ञान छ । बिरामी आउन रोक्ने आफैं अनि आरोप हामीलाई लगाउन पाइँदैन । फेरि जुम्ला गएको मानिसहरु किन मुगु गएको ? त्यति धेरै इमर्जेन्सी थियो भने रारा घुम्न नजानु नि । सिधै जुम्लाबाट काठमाडौं आउनु ।’
तपाईको प्रतिक्रिया दिनुहोस