प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

हाङझाउ,६ असोज । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको हो।
झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहअघि उनीहरुबीच औपचारिक भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्व चीन पुगेको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर न्यूयोर्कबाट चीन पुगेका हुन्। प्रधानमन्त्री प्रचण्डले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री दाहालको भ्रमण दलमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र अन्य सदस्य पनि छन् ।
सीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङ आउने छन्। बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
उक्त भेटवार्तापछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन्। सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन्। महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम छ।
यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ।
यसैगरी उनले चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने छन्। सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ। सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ। सम्मेलनमा सहभागिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरू पनि यहाँ आइपुगेका छन्।
प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्। तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कनुहुने कार्यक्रम छ।
तपाईको प्रतिक्रिया दिनुहोस