Techie IT
  • २०८१ असार ६, बुधबार

नेपाल समाजवादी पार्टीसँग एकता गर्न माओवादी केन्द्रले पार्टीको नाम फेर्ने


काठमाडौँ, ४ असोज । नेपाल समाजवादी पार्टीसँग एकता गर्न नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० पार्टीको नाम फेर्न तयार भएको छ। माओवादी केन्द्रको गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले कोस्ठभित्रको माओवादी केन्द्रको नाम फेर्न तयार भएको भन्दै नेसपालाई पत्र पठाएको छ।

गत भदौ ३० गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले हस्ताक्षर गरी नेसपा अध्यक्ष महेन्द्रराय यादवलाई पत्र पठाइएको हो। नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई भारत भ्रमणमा भएका बखत अर्का अध्यक्ष यादवलाई पार्टी एकताका विषयमा पत्र पठाएको हो। जस कारण नेसपामा तरङ्ग पैदा भएको छ। पार्टी एकताका विषयमा नेसपा सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले २०७९ साल चैत ३ गते नौबुँदे प्रस्ताव लेखेर माओवादी संवाद समितिका संयोजक कृष्णबहादुर महरालाई बुझाएका थिए। नेसपाको पत्रको जवाफ लेखेर माओवादीले गत भदौ ३० गते एकता गर्न सकारात्मक रहेको प्रस्ट पारेको छ।

माओवादी केन्द्रका उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख जनार्दन शर्माले नेसपासँग एकता गर्न पार्टीको नाम फेर्न तयार भएको बताए। “बाबुरामजी अहिलेकै अवस्थामा माओवादी केन्द्रसँग एकता गर्न तयार हुनुभएन। सबैका भावना र विचार समेट्न कोस्ठभित्रको माओवादी केन्द्र लेखेको फेर्न तयार भएका हौँ,” उनले भने, “पार्टीको नाम फेर्ने प्रस्तावले नेसपासहित अन्य कम्युनिस्ट घटकसँग एकता गर्न सहज बनाउँछ भन्ने विश्वास छ।”

पार्टीको नाम माओवादी केन्द्र फेरिए पनि नेपाल कम्युनिस्ट पार्टी अगाडि जोडिने पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए। उनले भने, “बाबुरामजी अहिलेकै माओवादी केन्द्रसँग एकता गर्न तयारै हुनुभएन। त्यसपछि नेकपा रहने गरी पार्टीको नाम फेर्न तयार भएका हौँ।” उनले माओवादी र नेसपाबिच पार्टी एकताका विषयमा पत्र आदानप्रदान भएकाले एकताले अन्तिम रूप छिट्टै लिने बताए।

नेसपा केन्द्रीय सदस्य रोशन पोख्रेलले पार्टी एकता गर्नेभन्दा भाँड्ने गरी माओवादीबाट पत्र आएको भनी असन्तुष्टि व्यक्त गरे। “हाम्रो पार्टीको पहिलो वरीयतामा बाबुराम सर हुनुहुन्छ। उहाँलाई सम्बोधन नगरी दोस्रो वरीयताका अध्यक्षलाई पत्र पठाइयो,” उनले भने “माओवादी एकताबाट एकता गर्नेभन्दा नेसपामा खेलेर पार्टी फुटाउन खोज्नुभयो। यसले एकता हैन बिगार्न सक्छ।” गत मङ्सिर ४ गतेको चुनावलगत्तै माओवादी र नेसपाबिच एकता गर्ने समझदारी भएको थियो। त्यसैले डा. भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा–२, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि छोडेका थिए। त्यति बेला प्रचण्ड बाबुरामबिच बाबुरामलाई राष्ट्रपति बनाउने समझदारी भएको थियो। अन्तिममा प्रचण्डले बाबुरामलाई राष्ट्रपति प्रस्ताव नगरेपछि पार्टी एकता एकपछि अर्को गर्दै लम्बिँदै आएको छ।

नेसपाकै अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ माओवादीसँग तत्काल एकता गर्नुपर्ने भन्दै पार्टीभित्र दबाब बढाएका छन्। अहिलेकै अवस्थामा नेसपा बलियो बनाउन नसकिने उनीहरुले निष्कर्ष निकालेका छन् तर पार्टी एकता गर्न डा. बाबुरामसहित सबै नेता एकढिक्का नहुँदा टुङ्गो लाग्न सकेको छैन।

माओवादी नेसपासँग एकता टुङ्गो लगाएपछि समाजवादी मोर्चामा आबद्ध दलहरूसँग निकटता बढाउने नीति लिएको छ। मोर्चामार्फत घनिष्ठता बढाएर माओवादीको चार दलबिच एकता गर्ने दीर्घकालीन योजना छ।    



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट