Techie IT
  • २०८१ जेष्ठ ३१, बिहीबार

वाटिकाको बीचमा २३ वर्षदेखि लौरो टेकेर ठिङ्ग उभिरहेका लौह पुरुष गणेशमान


भक्तपुर, २ असोज । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जङ्गलको पूर्वपट्टिको छेउमा सुन्दर बगैँचासहितको बाटिका छ । नजिकै सानो पालेघर । वाटिकाको बीचमा २३ वर्षदेखि लौरो टेकेर ठिङ्ग उभिरहेका लौह पुरुष, प्रजातन्त्र सेनानी स्व गणेशमान सिंहको पूर्णकदको सालिक । हो यही सालिक आज (मङ्गलबार) स्व. सिंहको पुण्यतिथि एवं २६औँ स्मृति दिवसका अवसरमा राष्ट्रपति अनावरण गर्ने भएपछि बल्ल ठडिएको सालिकले पूर्णता पाउने भएको छ ।

सो सालिक एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो रहेको छ । २०५४ सालमा स्थापना भएको गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले बृहत् गुरुयोजनासहित तयार पारेको वाटिकाका अझै कयौ संरचनाले पूर्णता पाउन बाँकी नै छ ।

तत्कालीन कटुन्जे गाविसको सिफारिसमा तत्कालीन राजा वीरेन्द्रको पालामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र वामदेव गौतम उपप्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकले पारित गरी वाटिका स्थापना गर्न समितिका नाममा जग्गा उपलब्ध गरिएको थियो । कित्ता नं. ४२१ को १४८ रोपनी पाँच आना जग्गामा गणेशमानको सालिक र वाटिका निर्माण भएको हो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५४ सालमा वाटिकाको शिलान्यास गर्नु भएपछि ०५५ मा समितिले आफ्नो कार्यालय भवन निर्माण गरेको समितिका अध्यक्ष एवम् वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले जानकारी दिए । २०७२ कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने लक्ष्यका साथ सुरु भई २०५७ मा नै करिब रु. एक करोडको लागतमा स्व. सिंहको पूर्णकदको सालिक निर्माण सम्पन्न भए पनि अनावरण हुन नसक्दा वाटिका र सालिक अलपत्र जस्तै बनेको थियो ।

समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाहरूको जीवनी झल्किने सङ्ग्रहालय, दृश्यावलोकन स्तम्भ (भ्यु टावर), वनभोज स्थल, आधुनिक बगैंचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएर गुरुयोजना तयार पारेको थियो । अहिलेसम्म करिब रु। चार करोडको लागतमा सालिक प्रवेश गर्ने मूलद्धार निर्माण सम्पन्न भएको, सिंढी मर्मत गरिएको, समितिको आफ्नै कार्यालय भवन, केही वनभोज स्थल, सार्वजनिक शौचालय निर्माण भएको, वाटिकालाई सुन्दर बगैँचाका रुपमा परिणत गरेको छ भने बजेट अभावले अन्य संरचना निर्माण भने पूरा हुन बाँकी रहेकोे समितिका अध्यक्ष बस्नेतले जानकारी दिए ।

विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहलाई अस्वीकार गर्दै उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारेपछि नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । स्व. सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका सङ्घर्ष र त्यागका बारेमा विस्तृत विवरणका अतिरिक्त प्रजातान्त्रिक शहीदहरूको जीवनी समेटेर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य वाटिकाले लिएको छ ।

प्रजातान्त्रिक योद्धाहरुको सङ्घर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने, त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरूक तुल्याउने थलोको रूपमा विकास गर्ने लक्ष्य लिएको समितिका महासचिव कृष्णमुरारी न्यौपानेले जानकारी दिए ।

समितिका संस्थापक अध्यक्ष एवम् सालिकसहितको वाटिकाको परिकल्पनाकार स्व। रामेश्वर ढुङ्गेल, पूर्वअध्यक्ष सुनिल वासु र वर्तमान अध्यक्ष बस्नेतले वाटिकाको गुरुयोजना सफल पार्न अनवरत रुपमा लागिरहेका थिए । स्व. गणेशमान सिंहको जन्मदेखि सरकारी जागिर खाएर छोडेको, उच्च शिक्षा हासिल गर्न भारतको कोलकत्ता गएको, त्यहीं राजनीतिक सङ्घ सङ्गठनमा आबद्ध भएको, राणा शासनविरुद्ध सङ्घर्ष गरेको, प्रजातन्त्र प्राप्त भएको घटनाक्रमलाई उजागर गर्ने भौतिक संरचनासहितको गुरुयोजना निर्माण गरिएको उनले जानकारी दिए ।

त्यस्तै, राणाशासनको अन्त्यसँगै पुनः पञ्चायती शासन आएको, पञ्चायतविरुद्ध सङ्घर्ष गर्दा जेल परेको र जेल फोडेर भागेको घटना, प्रजातान्त्रिक आन्दोलनमा सर्वोच्च कमान्डर भएको, प्रधानमन्त्रीका प्रस्ताव अस्वीकार गरेको, कांग्रेस पार्टी त्यागेको लगायतका घटनालाई समेत उजागर गर्ने भौतिक संरचना वाटिकाभित्र निर्माण हुने गरी गुरुयोजना बनाइए पनि त्यस्ता धेरै संरचना भने अझै निर्माण हुन सकेका छैनन् । वाटिकामा ती सबै संरचना निर्माणका लागि ३३ करोड रुपियाँ खर्च हुने बताइएको छ ।

गुरुयोजना कार्यान्वयनमा ल्याउन सके स्व गणेशमान सिंहबारे जान्न र बुझ्न सजिलो हुनेछ । गणेशमानसँग सम्बन्धित सम्पूर्ण घटना र त्यसको प्रतीक वाटिकाभित्रै पाउन सकिने गरी गुरुयोजना तयार पारिएको छ । स्व. सिंहले देशमा आर्थिक क्रान्ति नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि स्थायी नहुने धारणा राख्दै आएको समितिका अध्यक्ष बस्नेत स्मरण गर्छन् ।

विवादपछि अलपत्र गुरुयोजना  

समितिले सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार साखः ग्रुपलाई करिब रु १४ करोडको लागतमा पाँच वर्षभित्र गुरुयोजनामा समेटिएका सबै भौतिक संरचना निर्माण सम्पन्न गर्ने गरी ३९ वर्षका लागि उक्त जग्गा भाडामा दिने सहमति गरेको थियो ।

तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह संरक्षक तथा सोही क्षेत्रका सभासद् रामेश्वर ढुङ्गेल अध्यक्ष रहेको वाटिकालाई होटल सञ्चालनका लागि ३९ वर्षे भाडामा दिने, त्यस अवधिभरि हुने आम्दानीको २० प्रतिशत रकम वाटिकाको कोषमा आउने र ३९ वर्षपछि निर्माण भएका सबै संरचना वाटिकाको स्वामित्वमा हस्तान्तरण गर्ने गरी समितिका संस्थापक अध्यक्ष रामेश्वर ढुङ्गेल र साखः ग्रुपका तर्फबाट प्रभातप्रकाश साखःबीच २०७१ असार १२ गते सम्झौता भएको थियो ।

दधिकोट र कटुन्जेका जनताले उपभोग गरिरहेको खानेपानी ट्याङ्की र ऐतिहासिक सुवर्णेश्वर महादेव मन्दिर पनि वाटिका परिसरभित्रै परेकाले त्यसलाई असर पुग्ने गरी सरकारी सम्पत्ति निजी क्षेत्रलाई दिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी हालेपछि समिति सम्झौता रद्द भएको थियो ।

वाटिकाका लागि तयार पारिएको गुरुयोजना आफैँमा ऐतिहासिक थियो, त्यो संरचना निर्माण हुन सके गणेशमानलगायत देशका जनआन्दोलनमा सेनानी एवं शहिदहरुको जीवनी समेटिएको अध्ययन अनुसन्धानको केन्द्रसहितको सङ्ग्रहालय, पुस्तकालय निर्माणमा सरकारले चासो दिनुपर्ने समितिका अध्यक्ष बस्नेत बताउँछ् ।

संस्थापक अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद रामेश्वर ढुङ्गेलको निधनसँगै अलपत्र जस्तै बनेको सिंहको सालिक र वाटिकालाई पूर्व अध्यक्ष वासु र वर्तमान् अध्यक्ष बस्नेतसहितको समितिले सुन्दर वाटिका निर्माणसँगै सालिक अनावरण गर्ने कार्य सम्पन्न गर्ने तहसम्म पुर्‍याएको छ ।

सांसदहरुले निर्माण भइसकेको स्व। गणेशमान सिंहको पूर्णकदको सालिकको लागि समेत ४१ लाख रुपियाँ छुट्याएका थिए भने सालिक निर्माणस्थलको भौतिक निर्माणको लागि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट रु २० लाख र बाटिका प्रवेश गर्ने सिंढी सुधारको लागि नगर विकास प्राधिकरणले थप २५ लाख रुपियाँ बजेट छुट्याएको थियो । त्यस्तै सांसद मनमोहन भट्टराईले रु चार लाख र प्रदेशसभा सदस्य शशीजङ्ग थापाले यहाँको भौतिक संरचना निर्माणका लागि रु। २५ लाख उपलब्ध गराउनु भएको थियो । तत्कालीन जिविस, गाविस, नगर विकास समिति, संरक्षण समिति र जनश्रमदानबाट करिब रु। २७ लाख लागतमा कार्यालय भवन निर्माण गरेको थियो ।

समितिले रु। ३३ करोडको लागतमा वाटिकाको सम्पूर्ण संरचना निर्माण हुने र यसलाई गणेशमानको मात्रै नभई नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गर्ने महत्वपूर्ण सबै व्यक्तिहरुको जीवनी, अध्ययनशालासमेत निर्माण गरेर देशकै ऐतिहासिक स्थल बनाउन सकिने जनाएको छ । यस क्षेत्रलाई इतिहासकाबारेमा अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा मात्र नभई आन्तरिक एवं बाह्य ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने समितिका जगन्नाथ कार्की बताउँछन् ।

यसकारण बिर्सन सकिन्न गणेशमानलाई  

नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालालाई महामानव तथा युगपुरुषको उपनामले चिनिए जस्तै नेता गणेशमान सिंहलाई सर्वोच्च नेता तथा लौहपुरुषको उपनामले चिनिदै आएको छ ।

बिपी कोइरालाको पारिवारिक नाम सान्दाजु भएजस्तै गणेशमान सिंहको पारिवारिक नाम पनि हीराकाजी थियो । जेठा बाजे रत्नमानसिंह बडाकाजी भएकाले जेठा नातिलाई बडाकाजी परिवारको अत्यन्त महत्वपूर्ण निधि मानेर हीरा भन्ने गरिएको र बडाकाजी परिवारमा जन्मेकाले काजी भन्ने गर्दा गणेशमानलाई हीराकाजी भन्ने गरिन्थ्यो ।

उमेरले बिपी कोइरालाभन्दा १४ महिना मात्रै कान्छा गणशमान १९७२ कात्तिक २४ गते जन्मिएका हुन्। त्यसैले पनि बिपी र गणेशमान समकालीन नेता र खुबीवान थिए । दुवैका यस्ता खुबीले गर्दा भारतको वनारसमा जन्मेको नेपाली कांग्रेस पार्टीले २००७ सालमा नेपालबाट एकतन्त्रीय राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भएको मात्रै भएन २०१५ सालको प्रथम आमनिर्वाचनमा दुई तिहाई मतसमेत ल्याउन सफल भएको थियो । बिपी र सिंहकै योगदानका कारण २०४८ सालको दोस्रो आमनिवार्चनमा पनि नेपाली कांग्रेसले नै बहुमत ल्याउन सकेको थियो ।

काठमाडौंको रानीपोखरीस्थित दरवार स्कुलमा राणाहरुका छोराछोरीलाई मात्र पढ्ने अवसर पाउँदा ६ कक्षामा पढ्दै गर्दा एकै कक्षाका राणाको छोरालाई तँ भन्ने शब्द प्रयोग गरेकै कारण विद्यालयबाट निकालिएपछि राणा शासनबिरुद्ध मनमा क्रान्तिको सुरुआत गरेको मानिन्छ । आठ वर्षको उमेरमै पिता गुमाउनु भएका सिंहले आफ्नो २४ वर्षको उमेरमा १९९६ सालदेखि नेपाल प्रजा परिषद्को सदस्य भई राणाशासन विरोधी आन्दोलन र राजनीतिमा सक्रिय भएका थिए ।

विसं १९९७ मा राणाविरोधी गतिविधिमा सक्रिय भएका कारण उनलाई सर्वस्वसहित आजीवन कारावास राखिएपछि २००१ असार ७ गते १२ फिट अग्लो भद्रगोलको पर्खाल नाघेर भाग्न सफल भएका थिए । २०१५ सालको आमनिर्वाचनमा उनी कांग्रेसको मन्त्रिपरिषदमा मन्त्री भए पनि सन्तुष्ट हुन नसकेपछि पदका लागि राजनीति नगर्ने र देशका लागि लागिरहने घोषणा गरेका थिए । उनकै नेतृत्वमा २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफलतापछि तत्कालीन राजा वीरेन्द्रले दरबारमै बोलाएर प्रधानमन्त्री बन्न प्रस्ताव राख्दा नमानेर कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरेपछि उनको उचाई अझै बढेको थियो । नेता सिंहको २०५४ असोज २ गते निधन भए पनि उहाँले देश र जनताप्रति गरेको योगदान युगौँयुग बाँचिरहने छ । रासस



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट