तुलसीपुरमा खुट्टा छिनालिएको अवस्थामा एक पुरुष फेला
दाङ, ११ कात्तिक । तुलसीपुरमा गएराति एक व्यक्तिमाथि सामुहिक सांघातिक हमला भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि सांघातिक हमला भएको हो।
आक्रमणबाट विक गम्भीर घाइते भएका छन्। विकमाथि तुलसीपुर १२ गोलौरीमा आक्रमण भएको जानकारी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले दिएका छन्।
विक बाँया खुट्टा छिनालिएको अवस्थामा फेला परेपछि प्रहरीले गएराति उद्धार गरेर अस्पताल पुर्याएको डिएसपी सिंहले बताए। उनको दुबै हातमा पनि धारिलो हतियार प्रहार भएको छ।
घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि गएराति नै थप उपचारका लागि बाँके रिफर गरिएको डिएसपी सिंहले जानकारी दिए। बाँकेबाट पनि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइहरेको भन्ने खबर आएको सिंहले बताए ।
अत्यधिक रक्तस्राव भएका कारण घाइते विकको अवस्था चिन्ताजनक रहेको छ। गएराति नै हामीले तुलसीपुरमा रगत दिएर घाइतेलाई नेपालगञ्ज पठाएका हौं,’ डिएसपी सिंहले भने ‘खुट्टा छिनालिएको हुँदा अत्यधिक रक्तस्राव भएको छ। घाइतेको अवस्था चिन्ता जनक छ।’
घाइते विक गोलौरीमा भान्जाको विहे खान भनि आएका थिए। भान्जाको घरबाट नवलपुरस्थित घर तर्फ जाँदै गरेका विकलाई पढ्ढा र गौलौरीको बीचको एकान्त स्थलमा अपरिचित समुहले सांघातिक आक्रमण गरेर शक्त घाइते तुल्याएको प्रहरीले बताएको छ।
गएराति दश बजेतिर प्रहरीले बिकलाई घाइते अवस्थामा फेला पारेर उद्धार गरि अस्पताल पुर्याएको थियो। प्रहरीले बिकमाथि सांघातिक हमला गर्ने व्यक्तिहरुको खोजी भइरहेको बताएको छ।
क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #dang, #tulsipur
प्रतिक्रिया