प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपतिसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने

काठमाण्डौं, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभाको औपचारिक भ्रमणबारे आज शुक्रवार प्रतिनिधिसभालाई जानकारी गराउँदै यो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्ड आउँदो असोज ५ गते संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीले छोटो समय रहेका कारण संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभाको कार्यक्रम सकेर त्यतैबाट चीन भ्रमणमा जानुपर्ने अवस्था आएको बताए । उनले आफ्नो चीन भ्रमणमा दुई देशबीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपालीको हित एवम् दुई देशबीचको सम्बन्धलाई बलियो तुल्याउन प्रयास हुने प्रतिबद्धता व्यक्त गरे ।
चीन भ्रमणअघि प्रधानमन्त्री प्रचण्डले असोज ४ गते संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभालाई न्युयोर्कमा सम्बोधन गर्नेछन् । प्रचण्डले संयुक्त राष्ट्र सङ्घको महासभामा आफूले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरू अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित देशबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउने बताए।
उनले अल्प विकसित देशहरूको समूहका अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरूले झेल्नुपरेका विशिष्ट चुनौतीबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभाव लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने योजना रहेको पनि सुनाए ।
उनेल भने ‘संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा सहभागी भई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्र सङ्घको महासचिवबाट निमन्त्रणा भएको छ । यस महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको हाम्रो अभ्यास र समुन्नत नेपाल निर्माणमा हाम्रो प्रयासका विषयहरूलाई विश्व समुदायसमक्ष मुखरित गर्न पाउनुलाई मैले एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिएको छु । यसका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ ३० गते संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कतर्फ जाने मेरो तयारी रहेको छ । संयुक्त राष्ट्र सङ्घको महासभाको उच्चस्तरीय सत्रपछि असोज ५ गते छिमेकी देश गणवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङजाओ जाने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्र सङ्घमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्युयोर्कबाट सिधै छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जानुपर्ने स्थिति बन्न गएको हो ।’
प्रधानमन्त्रीको रूपमा प्रचण्डको यो तेस्रो चीन भ्रमण हो । भ्रमण दल छोटो र छरितो रहेको पनि उनले दाबी गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस