नेपाल सरकारविरुद्ध मुद्दा हाल्ने बागमती प्रदेशका कानुनमन्त्री श्रेष्ठको चेतावनी

हेटौँडा, २९ भदौ । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बिज्ञान र प्रविधिको जमानामा प्रहरीहरुले पनि सोही अनुरुप अन्तराष्ट्रिय तहको बिज्ञान प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन् ।
आज शुक्रबार मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरुलाई अत्याधुनिक उपकरणयुक्त प्रविधिमैत्री बनाउँदै लैजाने बताए । मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढगले बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले भने, हाम्रो देशका प्रहरीहरुलाई नागरिकमैत्री बनाउने कुरामा लागिरहेका छौँ तर एउटा हातले मात्र तालि बज्दैन । नागरिकहरु पनि प्रहरीमैत्री बन्न सक्नुपर्नेमा जोड दिए ।
नेपाल सरकारले २०८० भाद्र मसान्तसम्म प्रहरी समायोजन सम्पन्न गर्ने प्रतिवद्धता गरेको थियो । सो प्रतिवद्धता अनुसार प्रहरी समायोजन नहुने भएपछि मन्त्री श्रेष्ठले नेपाल सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने चेतावनी पनि दिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको भन्दै यहाँ नागरिक र प्रहरीले समन्वय र सहकार्यमा कार्य गर्नुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेको भन्दै यसका लागि पहल भैरहेको बताए ।
कार्यक्रममा चौकी निर्माणमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको २ करोड २६ लाख १५ हजार १ सय १७ रुपैया बजेटमा १ कठ्ठा ९ धुर क्षेत्रफलमा महिला पुरुष अलग अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवास सहित ३ तल्ले प्रहरी चौकिको निर्माण भएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस