गृहपृष्ठ ∕
राजनीति ∕
भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री केपी ओलीसँग भेटेकोमा सत्तारुढ दलमा नै विवाद
भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री केपी ओलीसँग भेटेकोमा सत्तारुढ दलमा नै विवाद
काठमाडौं । रिसर्च एण्ड एनलाइसिस विंग (रअ) का प्रमुख सामन्त कुमार गोयलले नेपालमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा जारी विवादलाई थप गहिरो बनाइदिएका छन् । रअ प्रमुख केही घण्टाका लागि काठमाडौंमा आएर प्रधानमन्त्री केपी ओलीलाई भेटेर फर्किएका छन । यसले पार्टीका कार्यकारी अध्यक्षसहित पार्टीका धेरै वरिष्ठ नेतालाई झस्काइदिएको छ ।
सत्तारुढ नेकपामा यतिवेला दुई गुटको संघर्ष चलिरहेको छ । एकातिर केपी ओलीले गुटको नेतृत्व गरिरहेका छन् भने अर्कातिर प्रचण्डले गरिरहेका छन् । प्रचण्डलाई पार्टीका वरिस्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले साथ दिएका छन् ।
केपीले आफूले देशभक्त अडान लिएकाले भारतीय संस्थापन पक्षले आफ्ना विरुद्ध पार्टीका इतर पक्षले उछालिरहेको बताउँदै आएका थिए । उनी र उनी निकट नेताले पार्टीका इतर पक्षलाई रअले आफ्ना विरुद्ध उचालेको आरोप लगाउने गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीकै पहलमा रअ प्रमुख खुलेआम काठमाडौं आए र उनलाई भेटेर गए ।
केपी ओलीको नेतृत्वको सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतका बीचमा तनाव नै छ । भारतले नेपालले आफ्नो जमिन समेटेर जारी गरेको नक्सालाई खुलेआम विरोध गरिसकेको छ । उसले औपचारिक रुपमा वार्ता गर्न पनि मानिरहेको छैन ।
गोयलले आफ्नो कार्यभार सम्हालेपछि दोस्रो पटक नेपाल भ्रमणमा आएको मानिएको छ ।
नेपालको हुम्ला जिल्लामा चीनसँग विवादको विषयलाई नेपाली कांग्रेसमार्फत उछालिएको छ । भारतसँगको विवादलाई कमजोर पार्न भारतीय संस्थापन पक्षले नै कांग्रेसलाई उचालेको कूटनीतिक क्षेत्रका विज्ञहरुले बताइरहेका छन् । गोयलले यसबारेमा पनि प्रधानमन्त्रीसँग कुराकानी गरेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
गोयलको भ्रमणपछि भारतीय स्थल सेना प्रमुख नरवाना नेपाल यात्रामा आउँदैछन् ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking