जनताको काम गर्ने एक मात्र पार्टी माओवादी होः प्रधानमन्त्री

गोरखा, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताएका छन् ।
सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै आज सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने “अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देशभर उत्साहपूर्ण ढङ्गले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेता कार्यकर्तालाई शुभकामना दिन चाहन्छु । ठुलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न यो अभियान सफल पार्न जरुरी छ ।"
जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको काम गर्ने एक मात्र पार्टी माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे । आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उहाँले चुनौतीपूर्ण अवसरको रूपमा लिएको बताए । सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरुवात गरिएको उनले बताए ।
भ्रष्टाचार विरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भ्रष्टाचारमा रमाउनेहरू अत्तालिएको उनले बताए । । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउदै प्रधानमन्त्री प्रचण्डले भने,“बुढीगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको छ, कर्णाली चिसापानीजस्तो गेम चेन्जर आयोजना सुरुवात गरिएको छ ।”
आफू छिट्टै चीन भ्रमण जान लागेको बताउै नेपालको विकास र देशको उत्तरीक्षेत्रका नाका खोल्नेलगायतका एजेन्डा रहने बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस